काठमाडौ।नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल (समाजवादी) बागमती प्रदेश समितिले स्ववियु चुनाव केन्द्रित अभियान सशक्त रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो पूर्ण बैठकले फाल्गुन १५ गते हुने भनिएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचनलाई थप सशक्त बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज ललित सीले जानकारी दिएका छन् ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले नेपालको विद्यार्थी आन्दोलनलाई नमुना बनाउने जिम्मा अखिल (समाजवादी)को काँधमा आएको भन्दै देशको आर्थिक राजनीतिक संकटको प्रभाव विद्यार्थी आन्दोलनमा समेत परेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रवक्ता प्रकाण्डले विद्यमान संकट समाधान र निकासमा अरु पार्टीहरु असफल भैसकेकोले संसदवादी क्याम्पलाई विघटन गर्न र प्रतिकुलतालाई अनुकुलतामा बदल्न विद्यार्थी आन्दोलन धारिलो बनाउनु पर्ने बताए ।
नेपालको शिक्षा प्रणालीमा दलाल पुँजीवाद हाबी भएको उल्लेख गर्दै उनले अखिल (समाजवादी)ले दलाल पुँजीवादको शैक्षिक हस्तक्षेप समाप्त पार्न स्ववियु चुनावलाई शिक्षा क्षेत्रको दलालिकरण र माफीयाकरण विरुद्धको लडाईको मोर्चा बनाउनुपर्ने बताए ।
बैठकमा सहभागी केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरुले स्ववियु निर्वाचन हुने क्याम्पसको स्थिति, संभावना, ध्यान दिनुपर्ने कुराहरू लगायत शिक्षा क्षेत्रका विविध समस्याबारे मौखिक रिपोर्ट गरेका थिए भने बैठकमा पूर्वअध्यक्ष चिरञ्जीवी सी, नेकपा केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज कृष्णहरि सी, केन्द्रिय सदस्य सन्जिव सी, केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला सचिव ललित सी, अखिल समाजवादीका महासचिव प्रकाश सी, सचीव कपिल सी केन्द्रिय प्रतिनिधि सदस्य तथा ललितपुर महानगर इन्चार्ज बज्र सीको सहभागिता रहेको थियो।
बैठकले स्ववियुलाई दलाल संसदीय व्यवस्था विरोधी मोर्चाकोको रूपमा प्रयोग गर्ने,स्ववियुलाई संसदवादी दल निकट विद्यार्थी संगठनहरूले भ्रष्टाचार र गुण्डागर्दी गर्ने थलोको रूपमा प्रयोग गरेकोले अखिल (समाजवादी) ले वास्तविक विद्यार्थीको सेवा गर्ने संस्थाको रुपमा स्थापित गर्ने निर्णय समेत गरेको बताइएको छ।