काठमाडौ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र आफूले ‘जनयुद्ध’ मा एउटै थालमा भात खाएको बताएका छन् ।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबीच कहिल्यै पनि मनमुटाव नभएको तर केही समयपहिला फाटो ल्याउन विभिन्न भ्रम छरिएको बताए ।
‘विप्लव र म ‘जनयुद्ध’देखि सहकार्य गर्दै आएका हौँ । चुनवाङ र थवाङका बैठकमा एउटै थालमा भात खाएका हौँ । केही समयदेखि हामी दुईबीच फाटो ल्याउने काम भयो । तर पनि हामी दुई जनाबीच फाटो आएन । अहिले पनि मिलेकै छौँ । पहिला पनि मिलेकै थियौँ । विप्लव भूमिगत हुँदा पनि सम्पर्क समन्वय हुँदै आएको थियो,’ उनले भने ।
शान्ति प्रक्रियामा आएपछि विद्रोह र चुनावको कार्यनीति ल्याउँदा माओवादीमा दुई धार देखिएको बताए । उनले भने, ‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्यो । त्यतिबेला विद्रोह बुझ्नेहरू विद्रोहतर्फ लागे । विप्लवले विद्रोह बुझ्नुभयो, विद्रोहतर्फ लाग्नुभयो । मैले चुनाव बुझेँ, चुनावतर्फ लागेँ ।’ शर्माले माओवादी पुनर्गठनको अभियान आफैँले थालेको बताए । उनले भने, ‘विप्लव र मेरोबीचमा राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबीच बाधकका रूपमा पनि चर्चा गरियो । ती सबै कुरालाई कपिलवस्तु र हरिसिद्धिमा पुगेर खारेज गरिसकेको छ ।’
शर्माले ‘जनयुद्ध’पछि संविधान लेखेर छोडेको, अरु काम नगरेको बताए । उनले भने, ‘’जनयुद्ध’पछि संविधान लेखेर छोड्यौँ । माओले जस्तो आर्थिक, सामाजिक रुपान्तरको काम गरेनौँ । नोकरशाहीका विरुद्ध माओ लडेका थिए । तर हामी लडेनौँ । जनदिशा लागू गर्न सकेनौँ । गल्तीबाट सच्याउनुपर्थ्यो, त्यो पनि भएन । निरन्तर क्रान्तिको बाटोमा हिँड्न सकेनौँ ।’ नेपालमा कम्युनिस्टहरूले असैद्धान्तिक गठबन्धन गर्दा बदनाम भएको शर्माले बताए । उनले भने, ‘चुनावमा असैद्धान्तिक गठबन्धन गर्दा बदनाम भएका छौँ । सैद्धान्तिक रूपमा विचलन आएको छ । गति लिन सकेको छैन । अब गति लिने गरी काम गर्नुपर्छ ।’