News Portal

  • कांग्रेस–एमाले सहमति नजिक बीआरआई कार्यान्वयनका लागी साझा धारणा बनाउदै

    सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर १३
    २७ पटक

     

    काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमाले चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा साझा धारणा बनाउन सहमति नजिक पुगेका छन् । बुधबार बेलुका बसेको दुई दलका नेताहरुको संयुक्त बैठकले बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ तयार गर्ने र त्यसलाई दीर्घकालीन राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । बैठकमा ठोस निर्णय भएको छैन तर नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको दाबी गरेका छन् ।

    छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र फ्रेमवर्कको मस्यौदा बनाउन दुवै दलका नेता सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा छन् । कार्यदललाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मा दिइएको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

    यसअघि यही कार्यदलले बीआरआई कार्यान्वयन योजनाबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणमा जाँदै गर्दा बीआरआई कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबारे सत्ता साझेदार कांग्रेस र एमालेबीच एकमत हुन सकेको छैन ।

    कांग्रेसले बीआरआईको रुपमा ऋण स्वीकार्न नसकिने जनाएको छ भने एमाले कार्यान्वयनमा जानुपर्ने पक्षमा छ । त्यसैले कांग्रेसको मतलाई समेत सम्बोधन गर्ने गरी साझा धारणा बनाउने प्रयास दुई दलका नेताहरु छलफलमा बसेका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिए ।

    यसैबीच प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदै छिन् । मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि ५ दिने चीन भ्रमण सुरु गर्दै छन् । प्रधानमन्त्री ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । उनले मंसिर १८ गते राष्ट्रपति सी जिनपिङ र समकक्षी ली छ्याङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस्