काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विदेशीको इसारामा सरकार बन्छ र ढल्छ भन्नु जनतामाथिको अपमान भएको बताएका छन् । पार्टी पुनर्गठन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित सभामा उनले नेपालको सरकार विदेशी शक्तिले ढाल्ने र बनाउने नेताहरूको व्याख्या जनतामाथिको धोका भएको बताएका हुन् ।
सरकार बनाउनका निम्ति जनता चुनावमा सहभागी हुने गरेको उनले उल्लेख गरे । हाल मुलुकको अवस्था अस्तव्यस्त रहेको र सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनले आरोप लगाए ।
प्रधानमन्त्रीको काम सरकार ढल्दैन भन्ने मात्र रहेको उनले बताए । उनले वर्तमान सरकार रातको १२ बजे पनि ढल्न सक्ने आभास जनतालाई भएको उनले उल्लेख गरे । हाल भ्रष्टहरूले नै सडकमा नारा लगाउने काम गरिरहेको उनले टिप्पणी गरे । त्यसरी उनीहरूका भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरिएको विप्लवले बताए ।
“यहाँ रमाइलो कुरा तपाईं हेर्न पाउनुहुन्छ, भ्रष्टचारीहरूको जुलुस निस्किन्छ, भ्रष्टाचारीहरूकै डन्डा बर्सिन्छ । भ्रष्टाचारीहरूकै देशमा भाषण चल्छ,” उनले भने, “भ्रष्टाचारीहरूकै ठूलठूला कोकोहोलो सुन्न पाइन्छ ।”
उनले अगाडि भने, “यो भ्रष्टाचार भनेको यस्तो रोग छ, नयाँ मान्छे त जन्मिएका छन्, पार्टी पनि जन्मेका छन्, तर गर्भैबाट भ्रष्टाचार बोकेर आएको जस्तो – यो पनि सुनिँदै छ ।”
उनले ऋणको त्रास देखाएर बीआरआई परियोजना रोक्ने र एसपीपी सम्झौता गर्ने षड्यन्त्र भइरहेको जिकिर गरे । हिमालयन टेली भ्वाइस