
काठमाडौ । नेपाली भाषा, साहित्य र सांस्कृतिक एकताको प्रतीक आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आइतबार देश तथा विदेशमा औपचारिक कार्यक्रममार्फत मात्र मनाइएको छ। राज्यस्तरबाट गम्भीर चासो नदिइएकोप्रति साहित्यिक क्षेत्रका व्यक्तिहरूले निराशा व्यक्त गरेका छन्।
सरकारको तर्फबाट कुनै विशेष पहल नदेखिएको भन्दै साहित्यकारहरूले गुनासो गरेका छन्। काठमाडौंको रानीपोखरीस्थित भानुभक्त शालिकमा माल्यार्पण र प्रभातफेरी कार्यक्रम भए पनि ती कार्यक्रमहरू सीमित उपस्थितिमा मात्र सिमित रहे। अधिकांश विद्यालय, विश्वविद्यालय वा सरकारी निकायमा न त छुट्टै कार्यक्रम आयोजना गरियो, न त सरोकारवाला निकायबाट विशेष सन्देश नै जारी गरियो।
भानुभक्तले संस्कृत भाषामा रचित वाल्मीकिकृत रामायण लाई नेपाली भाषामा भावानुवाद गर्दै भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा अद्वितीय योगदान गरेका थिए। तर उनीप्रति गरिने सम्मानको स्वरूप बर्षेनि झन् झन् औपचारिकता मात्रमा सीमित हुँदै गएको भानुभक्त चिन्तन प्रतिष्ठानका एक सदस्यले बताए।
“हामीले भाषा र साहित्यको गौरवको चर्चा गर्छौं, तर व्यवहारमा हाम्रो सम्मान र संरक्षण देखिँदैन,” उनले भने।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवालीका अनुसार, भानुभक्त जस्ता व्यक्तित्वको योगदानलाई शिक्षाको पाठ्यक्रम, सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममार्फत निरन्तर प्रचार–प्रसार गर्नु आजको आवश्यकता हो। “केवल एक दिन माल्यार्पण गरेर कर्तव्य पूरा हुँदैन,” उनी भन्छन्, “भानु जयन्तीलाई राष्ट्रिय चेतनाको पर्वका रूपमा विकास गर्नुपर्छ।”
भानुभक्तको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भएको थियो भने निधन वि.सं. १९२५ साल असोजमा। तर उनको योगदान अझै पनि सम्पूर्ण नेपालीलाई भाषिक र सांस्कृतिक रूपमा एकत्रित गर्ने आधार बनेको छ। यद्यपि त्यसअनुसारको व्यवहारिक सम्मान र सन्देश अभाव रहेको साहित्यिक वृत्तको मूल्याङ्कन छ।
साहित्य, शिक्षा र संस्कृति मन्त्रालय तथा सम्बन्धित निकायहरू मौन रहेको अवस्थामा, भानुभक्तको स्मृति केवल सामाजिक सञ्जाल र केही सिमित समारोहमा मात्र सिमित हुँदै जानु चिन्ताको विषय भएको विश्लेषकहरूको भनाइ छ।
