News Portal

कञ्चनपुरमा सर्पदंशबाट महिलाको मृत्यु, छाउपडी शंकामाथि अनुसन्धान जारी

सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ २९
65Shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा सर्पले टोकेर एक महिलाको ज्यान गएको छ। सर्पको टोकाइबाट गम्भीर घाइते भएकी २८ वर्षीया कमला दमाईको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार, शुक्रबार राति साढे १२ बजेतिर दमाईलाई घरभित्रै सुतिरहेको अवस्थामा बाँया गालामा सर्पले टोकेको थियो। गम्भीर अवस्थामा रहेकी उनलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा शनिबार साँझ ८ बजे उनको मृत्यु भएको हो।

घटनाको सम्बन्धमा सामाजिक सञ्जालमा ‘छाउगोठमा सुतिरहेका बेला सर्पले टोकेको’ दाबी भइरहे पनि प्रहरीका अनुसार यस्ता विवरणहरू हालसम्म आधिकारिक रूपमा पुष्टि हुन सकेका छैनन्। “हामीले पाएको प्रारम्भिक जानकारी अनुसार उनी घरभित्रै सुतिरहेकी थिइन्,” डीएसपी बोहराले भने, “छाउगोठको विषयमा सामाजिक सञ्जालमा चर्चा भए पनि सोबारे आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। थप अनुसन्धान भइरहेको छ।”

यस घटनाले अझै पनि स्थानीयस्तरमा छाउपडी प्रथा अन्त्य हुन नसकेको वास्तविकता उजागर गरेको सामाजिक अभियन्ताहरूले बताएका छन्। उनीहरूले महिलाको जीवन र स्वास्थ्य सुरक्षाका लागि राज्य र समाज दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्