News Portal

विप्लव, प्रचण्ड र प्रकाण्डबीच महत्वपूर्ण भेटवार्ता,माओवादी एकताबारे छलफल

सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ ७
1.3kShares

 

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, पार्टी प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डबीच अहिलेको राजनीतिक संकटको निकास र माओवादी एकताका विषयमा महत्वपूर्ण छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा शनिवार तीन शिर्ष नेताहरुबीच भएको महत्वपूर्ण भेटवार्तामा वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र माओवादी घटकहरुबीचको एकताको विषयमा गम्भीर छलफल भएको हो ।

भेटवार्तामा देशको पछिल्लो राजनीतिक संकटको अग्रगामी निकास कसरी गर्ने ? माओवादी घटकहरुबीचकोे एकता र सहकार्य कसरी अगाडि बढाउने ? भन्ने विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

तीन शिर्ष नेताहरुले अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद भन्दा अर्को कुनै विकल्प नभएको निश्कर्ष निकाल्दै त्यसका लागि कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र वाम गठबन्धनको सम्भावनालाई समेत जोड दिनुपर्ने विषयमा छलफल गरेका छन ।

शिर्ष नेताहरु बीच नेपाली विशेषताको समाजवादमा पुग्न समाजवादी मोर्चालाई सशक्त बनाउनु पर्ने र अरु कम्युनिष्ट तथा वामपन्थी घटकहरुलाई पनि संगै लैजानुपर्ने विषयमा गम्भीर छलफल भएको छ ।

तीन शिर्ष नेताहरुले नेपाली विशेषताको समाजवादको साझा आधार बनाएर नेपाललाई दलाल पुँजीवादबाट कसरी मुक्त गर्ने ? भन्ने विषयमा पनि गम्भीर छलफल गरेका छन ।

भेटवार्तामा नेकपाका महासचिव विप्लवले माओवादी घटकहरुबीचको साँच्चीकै एकता गर्ने हो भने विगतमा भएका कमी कमजोरीहरुबाट सबैले रुपान्तरण भएर समाजवादी क्रान्ति पुरा गर्ने शर्तमा एकता गर्नुपर्ने बताउनु भएको थियो ।

महासचिव विप्लवले एकताका लागि सुरुमा विचार र राजनीति कार्यदिशा एक हुनुपर्ने,त्यसपछि नीति र नेतृत्वको विषयमा छलफल गरेर देशलाई समाजवादी दिशामा नेतृत्व गरेर लैजानुपर्ने विषयमा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनु भएको श्रोतले बताएको छ ।

महासचिव विप्लवले आफ्नो पार्टीले एकताका लागि करिव १ बर्ष अघि नै केन्द्रीय समितिबाट आधिकारीक निर्णय गरिसक्दा पनि माओवादी केन्द्रमा एकताको साँझा निर्णय गर्न नसकेकोमा के कारणले एकताको प्रक्रिया रोकिएको हो ? भनि प्रचण्डसमक्ष जिज्ञासा राख्नु भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी घटकहरुको एकता अनिवार्य भएपनि त्यसका लागि प्रयाप्त छलफल हुन नसकेको र आउने दिनमा छिट्टै प्रयाप्त छलफल गरी एकता प्रक्रिया अगाडि बढाउने बचन दिएको श्रोतले बताएको छ ।

दुवै पार्टीका शिर्ष नेताहरुबीच वार्ता र सम्वाद निरन्तर जारी राख्ने, समाजवादी मोर्चालाई सक्रिय बनाउने, दुवै पार्टीको सहकार्यलाई जोडदिने, पार्टी एकताको लागि आवश्यक गृहकार्य गर्दै जाने सहमति पनि भएको बताईएको छ ।
आजको भेटवार्तालाई औपचारिक रुपमा सार्वजनिक नगरिए पनि यो भेटवार्तालाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्मरणरहोसः शुक्रवार मात्र नेकपामा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सीले नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बावुराम भट्राई र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसंग पनि कम्युनिष्ट क्रान्तिकारी र वामपन्थीहरुको एकता र सहकार्यका विषयमा गम्भीर छलफल गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्