काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सी एकीकृत जनक्रान्तिको नयाँ मोर्चाका रुपमा ‘नयाँ आर्थिक मार्ग’ अगाडि सारेको बताएका छन् । शुक्रबार बागमति प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षणमा अध्यक्षता ग्रहण गर्दै प्रवक्ता प्रकाण्डले नयाँ आर्थिक मार्गले सामाजवादको ढोका खोल्ने बताए ।
पार्टीले चौतर्फी पहलकदमीबाट साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्धमा लडिरहेको बताउँदै नयाँ आर्थिक मार्गले क्रान्तिलाई उचाईँ दिने ठोकुवा गरे । देशको मुख्य समस्या दलाल पुँजीवाद भएको र जनताले यसको अन्त्य चाहेको उनको भनाई थियो ।
पार्टीले दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्धमा लड्न लागि विचार संश्लेषण गर्न लागेको बताउँदै यसले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान हुने जिकिर गरे । महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमको संचालन नेकपा पोलिटब्य्ुरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले गरेका थिए । कार्यक्रममा दोलखा जिल्ला इन्चार्ज प्रेम सीले स्वागत मन्तव्य राखेका थिए भने आरोह सीले स्वागत गितमार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा वेथान स्मृति दिवससमेत मनाइएको थियो । महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य विषम र शुशील सीले वेथानका सहिदहरुको तस्वीरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु सीले वेथान स्मृति दिवस र महिलाहरुको वलिदानको चर्चा गरेकी थिइन् ।