काठमाडौँ – स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिएकी हुन् ।
उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् । सबैभन्दा बढी डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा मत खसेको छ भने सबैभन्दा कम काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा मत खसेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा साढे २० हजार मत खसेको छ।
सुदूरपश्चिमका ५ स्थानमा ५७ प्रतिशत, गोरखामा ६२ प्रतिशत, सप्तरीको डाक्नेश्वरीमा ६९. ४३ प्रतिशत, रुकुमपूर्वको पुथा उत्तरगंगामा ५१ प्रतिशत, मुसिकोट–१मा ५४ प्रतिशत मत खसेको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।