समाचार

चेपाङको घर होइन गोठ जलाइएको हो : मन्त्री बस्नेत

११ साउन, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् ।प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित मन्त्री बस्नेतले चेपाङ बस्तीमा आगो लागाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबै कुरा सत्य नभएको दावी गरेका हुन् ।

कुसुमखोला आसपास क्षेत्रका २ सय १ घरमध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यसठाउँमा खेती गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको उनले बताए । मन्त्री बस्नेतले बाँकी ८ घरमध्ये एक जनाको गोठ समेत परेको बताए । उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही पनि उनको दावी छ ।स्थानान्तरण भएका व्यक्तिहरु पुनः फर्किएर त्यस ठाउँमा बस्ती बसाउने गरी मचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटेको हुनसक्ने मन्त्री बस्नेतले बताए ।

‘…मन्त्रालयबाट सहसचिवको नेतृत्वमा एउटा अधययन टोलि त्यहाँ पठाएका पनि छौं । अध्ययन गरिराख्नु भएको छ । हामीले राय मागेका छौं । उहाँहरुको भनाई अनुसार दुईवटा सामग्री थियो । त्यो पनि बाहिर निकालेर गोठचाहिँ जलाइएको भन्ने, हामीसँग अहिलेसम्मको रिपोर्टिङ यति छ भने बाँकी चाहिँ मोटरसाइकलमा गएर दिनभर मकै हेर्न बनाइएका मचानहरु हुन । जो १ सय ९३ स्थानान्तरण भइसकेको मध्येका हुन् भन्ने अहिलेको हामीलाई भएको जानकारी रहेको छ’ उनले समिति बैठकमा भने ।

मन्त्री बस्नेतले नेपाली सेनाद्वारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइराखेको बताए ।कुसुमखोला घटना मानवअधिकार विरुद्धमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देव गुरुङले बताए । उनले निकुन्जको संरक्षण गर्ने जिम्मेवारी निकुन्ज प्रशासनको भएपनि कारबाही गर्ने तरिका उचित नभएको धारणा राखे ।

नेपाली कांग्रेसका सांसद वालकृष्ण खाँडले उक्त घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताए । आफ्ना नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने ठाउँमा आफैले घटना घटाउनु दुखद भएको बताए ।सांसद मातृका यादवले सेनाको बारेमा बोल्नै नहुने र प्रहरीको संरक्षण गृह मन्त्रीले गर्नै पर्ने प्रवृत्तिले राज्यबाटै घटनाहरु घट्ने गरेको बताए ।

सांसदहरुले निकुञ्ज संरक्षण गर्ने नाउँमा मानिसमाथि नै आक्रमण गर्ने प्रवृति रोक्नुपर्ने बताएका छन् । वनलाई अतिक्रमणबाट बचाउनु पर्नेमा कुनै विवाद नरहको तर वनको संरक्षणको नाउँमा मानवीय क्षति हुनेगरी घटना घटाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् ।

Related Articles

Back to top button
Close