समाचार

ओलीको शरीरमा हुनेछन् चारवटा मिर्गौला

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले अनलाइनखबरसँग भने, ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् ।’

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।

उनले भने, ‘पुरानो मिर्गौलाले दुई–चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।’

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।

 

Related Articles

Back to top button
Close