स्वास्थ्य/ जिबनशैली

प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चारवटा मिर्गौला

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले अनलाइनखबरसँग भने, ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् ।’

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।

डा. काफ्लेले अनलाइनखबरसँग भने, ‘पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुन्छ, त्यसलाई हटाउन समय धेरै लाग्ने भएकाले कुनै पनि डाक्टरहरुले त्यस्तो झन्झट गर्दैनन् ।’

उनले भने, ‘पुरानो मिर्गौलाले दुई–चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।’

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

Related Articles

Back to top button
Close