समाचार

नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान, एकसातामा ४० उडान हुने

काठमाडौँ, ३१ असार । आजदेखी साउन ६ गतेसम्म एक हप्ताका लागि विभिन्न मुलुकमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य पुनः सुरु भएको छ । दुई दिन देखी स्थगित भएको उद्धार कार्य आजबाट पुनः सुरु गरिएको हो । कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ।

नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्।यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४० भन्दा बढी उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ । सोहीअनुरुप नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान सुरू गरेका छन्।

आज विभिन्न ५ उडान मार्फत ६ सय ६८ जना स्वदेश फर्कने त्रिभुन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। आज मलेसियन एयरलाइन्समार्फत १९ जना, सिल्क एयरको जहाजमार्फत सिंगापुर र अष्ट्रेलियाबाट १ सय ५१ जना, युएईको दुर्बबाट फ्लाई दुबईमार्फत १ सय ८९, सारजहाबाट १ सय ६८ तथा कतार बाट कतार एयरवेजमार्फत १ सय ६० जना स्वदेश फर्कने निश्चित भएको छ।

आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एयरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज पनि आजै चीनको कुनमिङ्ग जाँदैछ। अबको एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले समान १६ उडान भर्नेछन्।

त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबिया र फ्लाई दुबईले २ तथा मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन्। यसैगरी जजिरा एयरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ।

Related Articles

Back to top button
Close