समाचार

पाँचतारे होटल बनाइरहेका गोल्यान भन्छन्- कोरोनापछि पर्यटन झन् फस्टाउँछ

राजधानीमा निर्माणाधीन पाँचतारे होटल हायात प्लेसको स्केच।राजधानीमा निर्माणाधीन पाँचतारे होटल हायात प्लेसको स्केच।पछिल्लो समय देशभर होटल तथा रेष्टुरेन्ट क्षेत्रमा निजी लगानी आकर्षित भइरहेको छ। अन्य व्यवसायमा जमिरहेका घरानाहरुले पनि होटल क्षेत्रमा लगानी बढाएका छन्।

टेक्स्टायल, बैंकिङ, कृषि, धागोलगायत अन्य व्यापारमा जमिरहेको गोल्यान समूहले काठमाडौंको सोल्टीमोडमा ‘हायात प्लेस’ पाँचतारे होटलका लागि संरचना निर्माणको काम गरिरहेको छ।साढे १० रोपनी क्षेत्रफलमा निर्माणाधीन होटल २०७६ को पुसभित्रै सञ्चालनमा ल्याउने समूहको योजना थियो। तर विश्वयापी रूपमा फैलिएको कोरानाभाइरसको महामारीले उक्त योजना सफल हुन सकेन।

होटल सञ्चालन अवधि १ वर्ष पर धकेलिएको समूहका अध्यक्ष पवन गोल्यानले बताए।‘गत पुसमै होटल सञ्चालनमा ल्याउने योजना थियो, तर कोभिड-१९ का कारण ल्याउन सकिएन,’ उनले भने।उनकाअनुसार निर्माणको काम अझै बाँकी छ। कोरोनाले सामान आउन नसकेपछि निर्माणको काम रोकियो।‘चीन र इट्लीबाट केही सामान आउनु पर्ने थियो, चीनमै पहिला कोरोना देखिएपछि सामान आउन सकेन, काम रोकिएको छ,’ उनले भने।

रोकिएको सामान ल्याउन कम्पनीले प्रक्रिया गरिरहेको छ। एकहप्ता भित्र सामान आए पनि काम हुन नसक्ने उनी बताउँछन्।‘फिटिङ गर्ने कामदार सबै इण्डिया (घर) गएका छन्, आउन १०-१५ दिन लाग्छ,’ उनले भने, ‘तत्काल काम सुरू हुँदैन।’उनका अनुसार कामदार आएर काम सुरू भएपछि ३ महिना जतिमा होटल सम्पन्न हुन्छ। त्यसपछिको २ देखि ३ महिनाजति हायातको मान्छेहरू आएर ‘ट्रायल’ गर्ने छन्।

अबको ६ महिना अर्थात् सन् २०२१ जनवरी फस्टमै होटल सञ्चालनमा ल्याउने योजना बनाएको उनले बताए।होटल सञ्चालन अवधि १ वर्ष पर धकेलिँदा ४० करोड जति घाटा भएको गोल्याउन बताउँछन्।‘योजनाअनुसार सञ्चालनमा नआउँदा निर्माण लागत बढ्यो, २० देखि २५ करोड त बैंकको ब्याजनै बढेको छ,’ उनले भने, ‘अरू सबै हिसाब गर्ने भने यो अवधिमा ३० देखि ४० करोड घाटा खाएका छौं।’

उनले थपे, ‘खर्च कटौती गर्न सक्ने ठाउँ नै छैन, कन्स्ट्रक्सन र फिनिसिङको कामदार गरेर ७० देखि ८० जना कामदार छन् उनीहरूलाई पाल्नै पर्यो।’अहिले घाटा भए पनि मौद्रिक नीतिले केही राहत दिन्छ भन्ने आशा उनले राखेका छन्।‘उद्योगी भएपछि घाटा-नाफा बेर्होनै पर्यो, तर यो कोरोनाले हामीले सीमाभन्दा बढी घाटा बेहोरेका छौं। मौद्रिक नीतिले ब्याजमा केही राहत हुन्छ भन्ने आशा छ,’ उनले भने।

पवन गोल्यान। फाइल तस्बिर। विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिए पनि आगामी वर्षदेखि पर्यटन व्यवसाय फस्टाउँछ भन्नेमा उनी विश्वस्त छन्।‘अहिले हामीलाई अब मान्छे कहीँ घुम्नै जाँदैन भन्ने लागेको छ। नयाँ कुरा आउँदा त्यो सोच्नु स्वभाविक हो। तर मानिसलाई उकुसमुकुस भइसकेको छ रिफ्रेस हुन कहाँ जाने होला भनेर,’ उनले भने, ‘झनै पर्यटन व्यवसाय फस्टाउँछ।’

यो परिस्थितिमा मान्छेले लामो यात्रा नगर्ने हुनाले एसियाका पर्यटन व्यवसाय फस्टाउने उनले देखेका छन्।‘नेपालमा ८ देखि ९ महिना राम्रो मौसम हुन्छ। गर्मी महिना भनेपनि जुन जुलाईमा पनि त्यति गर्मी हुँदैन। र जाडोमा पनि युरोपको जस्तो जाडो हुँदैन। मान्छे युरोप र अमेरिका जाँदैन, जाने भनेको एसियामै हो,’ उनले भने, ‘कोरोनाले अब होटल चल्दैन भन्ने लाग्दैन।’

अहिले देखिएको चीन र भारतको द्वन्द्वले चिनियाँहरू भारत र भारतीयहरू चीन जाँदैनन् भन्ने छ। त्यसले पनि दुबै देशको लागि नेपाल, थाइल्याण्ड, मलेसिया, सिंगापुर घुम्ने ठाउँ भएकाले आगामी वर्षदेखि होटल व्यवसाय चल्ने उनले बताए।

कस्तो बन्दैछ होटल?

१४ तले भवनमा होटलका लागि १५३ कोठा हुने छन्। लक्जरी तथा बिजनेस क्याटोगरी सबैलाई मिल्नेगरी रुमको इन्टेरियर डिजाइन गरिएको समूहकी निर्देशक लतिका गोल्यानले जानकारी दिइन्।

पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट हुने उक्त होटलमा क्यासिनो बाहेकका सबै स्तरीय सुविधा हुने छन्।

‘हाम्रो होटलमा क्यासिनो राख्ने अहिले कुनै योजना छैन, स्विमिङ पुल, स्पा, जिम, ब्यांकेट हल, सात सय क्षमताका मिटिङ रुम हुनेछन्,’ गोल्यानले भनिन्।

होटल निर्माणपछि यसको सबै व्यवस्थापन हायात प्लेसले गर्नेछ। यसमा उसले खाना पकाउनेदेखि सेवा सुविधासम्म सबै उसैको स्तरअनुसार हुनेछ।

होटलको भौतिक संरचना बनाउनसक्ने भएपनि व्यवस्थापन तथा सञ्चालनको अनुभवन तथा विज्ञता नभएकाले व्यवस्थापन करार गर्नु परेको उनले बताइन्।

‘हामीसँग भवन बनाउने दक्षता र अनुभव सबै छ लगानी पनि गर्नसक्छौं तर व्यवस्थापकीय दक्षता र अनुभव नभएकैले अन्तर्राष्ट्रिय चेनसँग सम्झौता गरेका हौं,’ उनले भनिन्।

अहिले मुलुकमा पाँचतारे होटलको सख्या १४ वटा छन्। तीमध्ये २ बन्द अवस्थामा छन्। काठमाडौं उपत्यकामै २ र काठमाडौं बाहिर एउटा पाँचतारे होटल सञ्चालनको तयारीमा छन्।

काठमाडौं बाहिर पाँचतारे होटलको सख्या पाँच पुगेको छ। काठमाडौंको याक एण्ड यति, होटल अन्नपूर्ण, होटल मल्ल, हायात रिजेन्सी, सोल्टी क्राउन प्लाजा, र्याडिसन, सांग्रिला र मेरियट सञ्चालनमा छन्। काठमाडौंको होटल एभरेष्ट भने बन्द छ।

त्यस्तै पोखरा ग्रान्ड सञ्चालनमा छ भने फूलबारी रिसोर्ट बन्द भएको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्ट र नेपालगञ्जको सोल्टी वेन्सटेन्ड प्रिमियर र सेन्टर प्लाजा सञ्चालनमा छन्।

‘हायात प्लेस’ हायात ब्रान्डको नेपालमा दोस्रो होटल हुने छ। यसअघि हायात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ। हायात रिजेन्सी र हायात प्लेसका लगानीकर्ता फरक हुन्। यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड भने एउटै हो।

Related Articles

Back to top button
Close