समाचार

राम भारतीय हुँदै होइनन्, अयोध्या ठोरीमै छ : प्रधानमन्त्री

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्या रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’

‘अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ त्यहाँ’ प्रधानमन्त्री ओलीले अघि भनेका छन् ।अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

उनले अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’

अयोध्या ठोरीमै भएको तर्क गर्दै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।’यसो भन्दा आफूमाथि विद्धानहरुले हमला गर्न सक्ने उनले बताए ।

Related Articles

Back to top button
Close