समाचार

सरकारले एमसीसी पास गर्नकै लागि संसदमा दर्ता गरेको हो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसदमा दर्ता भई विचाराधिन अवस्थामा रहेको अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरेको सम्झौतालाई सत्तारूढ दल नेकपा कार्यदलले दिएको सुझावसहित संसदबाट अनुमोदन गरिने बताएका छन् ।

केही समय अघिसम्म सरकारले संसद सचिवालयमा दर्ता गरेको एमसीसी सम्झौतालाई हुबहु रुपमा संसदबाट पारित गर्ने बताउँदै आएका मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सरकारले एमसीसी पास गर्नकै लागि संसदमा दर्ता गरेको हो । सरकारको पोजिसन त्यही हो । तर यसबीचमा केही सझुावहरु पार्टी (नेकपा) को तर्फबाट कार्यदलले दिएको छ । ती सझुावसहित एमसीसी सम्झौता पास हुन्छ नै भन्ने मलाई लाग्छ ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा रहेको तीन सदस्यीय कार्यदलमा अर्का नेता भीम रावल र स्वयं मन्त्री ज्ञवाली पनि थिए । ज्ञवालीले एमसीसीबारे कार्यदलले दिएको सुझावहरूका विषयमा भने बाहिर बोल्न नमिल्ने बताए । ‘हाम्रो कार्यदलले अध्यक्ष ज्यूहरूलाई सुझाव दिइसकेको छ । उहाँहरुले बाहिर नभनेसम्म हामीले यस बारेमा बाहिर भन्न मिल्दैन,’ उनले भने ।

मन्त्री ज्ञवालीले कार्यदलको सुझावसहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने भनिरहँदा नेपालस्थित अमेरिकी दुतावासका उच्च पदाधिकारीहरूले सम्झौताका कुनै पनि विषयमा संशोधन गरि संसदबाट अनुमोदन गरे अमेरिकालाई मान्य नहुने बताउँदै आइरहेका छन् ।

Related Articles

Back to top button
Close