समाचार

केपी ओलीका समर्थकलाई कोरोनाको जोखिम छैन ?

२५ असार, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको महामारीलाई कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन पाउने नीति अख्तियार गरेको छ । तर, सरकारी नीतिको अवज्ञा गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उपत्यकाका ६ ठाउँसहित विभिन्न जिल्लामा प्रदर्शन भए ।

प्रधानमन्त्रीको समर्थनमा भएका प्रदर्शनहरुमा सुरु–सुरुमा २५ जनाभन्दा कम मानिसहरु देखिए पनि बुधबार सयाै‌ँको संख्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघ निकट नेता, कार्यकर्तासमेत जुलुसमा सहभागी भए ।

लकडाउन कार्यान्वयको मुख्य जिम्मेवारी अहिले नेपाल प्रहरीलाई छ । उसले बुधबारै रोजगारीका लागि दक्षिण कोरिया जाने वातावारण सिर्जना गर्न माग गर्दै भएको उस्तै किसिमको प्रदर्शनबाट ६६ जनालाई गिरफ्तार गर्‍यो । तर, प्रधानमन्त्री ओलीको समर्थनमा भएको प्रदर्शनमा भने नेपाल प्रहरी मूकदर्शक बन्यो ।

केही दिन अघि पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै प्रदर्शन भएका बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित ब्रिफिङमा भीडभाड र जुलुस गर्नु आत्मघाती हुने बताएका थिए ।गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारी भने यो विषय राजनीतिक भएकाले यसमा आफूलाई प्रश्न नगर्न आग्रह गर्छन् ।

केपी ओलीको समर्थनमा निस्किएका जुलुसका सम्बन्धमा जसरी गृहमन्त्रालय मौन छ, स्वास्थ्य मन्त्रालय पनि मौन रहेको छ । गृह र स्वास्थ्य दुबै मन्त्रालयले जुलुस नगर्न आह्वान गर्न सकेका छैनन् ।यद्यपि सरकारको विपक्षमा हुने प्रदर्शनमा भने घरपकड गर्ने गरिएको छ ।

प्रदर्शनमा प्रधानमन्त्रीको मौन समर्थन सत्तारुढ नेकपाभित्र चर्किएको आन्तरिक विवादपछि अहिले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन जारी छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपाल लगायतले प्रधानमन्त्रीको राजीनामा मागेपछि ओली पक्षधरले प्रदर्शन गरेका हुन् ।

विगतमा ओली आफैं लकडाउनको खुकुलो होइन, कडा बनाउँदै लैजानुपर्ने राय व्यक्त गर्ने नेता हुन् । तर, अहिले आफ्नो पक्षमा भएको प्रदर्शनलाई उनले मौन समर्थन गरिरहेका छन् ।

आफूले जुलुस गर्न नभनेको तर स्वतस्फूर्त जुलुस निस्किएको भन्दै प्रधानमन्त्रीले सन्तोष प्रकट गरेका छन् । कोरोनाको जोखिम बढिरहेका बेला यस्ता जुलुसहरु रोकौं भनेर प्रधानमन्त्री एक शब्द पनि बोलेको सुनिएको छैन ।

Related Articles

Back to top button
Close