समाचार

सर्वोच्चको आदेश : कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्नू

१९ फागुन, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमणले भौगोलिक क्षेत्र विस्तार गरिरहेको र नेपालमा पनि यो संक्रमणको प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजर अन्दाज नगर्न सरकारलाई आग्रह गरेको छ ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै र ट्रान्जिट भएर नेपाल आउने जहाज अवतरणमा रोक लगाउन आदेश दिएको हो ।

साथै ती देशका नागरिकको स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउन र शंकास्पद विदेशी र स्वदेशीलाई तत्काल आइसोलेसन र क्वारेन्टाइनमा राख्न पनि आदेश दिएको छ ।

‘…कोरोना भाइरस (कोभिड १९) को गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि) बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भीरताको सुक्ष्म मूल्यांकन गरी आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनुका साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कालै आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउने …।’

‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने महामारीजस्तो विपद जोखिम न्युनीकरणको निमित्त पूर्वतयारीका काम गरिनसकेको भए तत्काल गरी संक्रमण फैलिए विपद प्रतिकार्य र व्यवस्थापन कार्यकारी प्रभावरी ढंगले गर्न पनि सरकारलाई आदेश दिएको छ ।

त्यस्तै स्थलमार्ग र हवाइमार्गबाट नेपाल भित्रने विदेशी नागरिकको अनिवार्य रुपमा दक्ष जनशक्तिबाट स्वास्थ्य जाँचको व्यवस्था मिलाउन पनि सर्वोच्चले आदेश दिएको छ । ‘…देशको उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिहरु प्रवेश गर्ने नागरिक (विदेशीसमेत) हरुको अनिवार्य रुपमा कडाइका साथ दक्ष जनशक्तिसहितको स्वास्थ्य जाँचको प्रभावकारी उपकरणको व्यवस्था गर्नू …।’

Related Articles

Back to top button
Close