समाचार

जनार्दन शर्माले भने- पार्टी फुट्दैन, फुटाउन दिइँदैन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी फुट्न नदिइने बताएका छन्।शनिबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु- पार्टी फुट्दैन। फुटाउन दिइँदैन।’

उनले नेकपाभित्र देखिएको विवाद कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको पनि बताएका छन्।‘नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याका रूपमा मात्र नहेरौं। यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको छ,’ शर्माले भनेका छन्, ‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन।’

उनले पार्टीलाई एकतावद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता/कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताएका हुन्। उनले पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिन नहुने बताए।

‘एकता गर्दा गरिएका सहमति, आमजनता र कार्यकर्ताको सुझावका आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रूपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं,’ शर्माले भनेका छन्, ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार्य गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु।’

उनले आफूलाई पार्टी एकताको एक अभियन्ताका रूपमा अर्थ्याउँदै थपेका छन्, ‘सबै नेता, कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गर्दछु। रूपान्तरणसहितको एकता आजको आवश्यकता।’

Related Articles

Back to top button
Close