समाचार

काठमाडौं उपत्यकामा कोरोना ‘लोकल ट्रान्समिसन’को झिल्को

१९ असार, काठमाडौं । ललितपुरका एक बालकको मेडिसिटी अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया गर्नुअघि पीसीआर टेष्ट गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । तर, उनको न कुनै ट्राभल हिस्ट्री छ, न उनी संक्रमितको सम्पर्कमा पुगेका थिए ।स्वास्थ्य कार्यलय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन्, ‘म आफैंले उनका बुबासँग कुरा गरेको थिएँ । एक निजी कम्पनीमा काम गर्ने रहेछन् । तर, ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको देखिएन ।’

उनका अनुसार यो केसलाई हेर्न एउटा टोली नै खटिएको छ । तर, संक्रमण स्रोत पत्ता लागेको छैन ।असार १६ गते उपत्यकामा १६ जना संक्रमित भेटिए । ९ जना विदेशबाट आएका थिए भने ५ जना उपत्यकाकै । उनीहरुमध्ये एक शंखमुल बस्ने गर्भवती थिइन् । उनको ट्राभल हिस्ट्री छैन र संक्रमणको स्रोत पनि पत्ता लागेको छैन ।

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी, टोखा बस्ने सशस्त्र प्रहरी जवान, रसियन दूतावासको सुरक्षामा खटिएका जनपथ प्रहरीको पनि संक्रमण स्रोत पत्ता लागेको छैन ।

उनीहरु कोरोना संक्रमितसँग सम्पर्कमा आएको वा ट्राभल हिस्ट्री नभेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए । उनका अनुसार अरू दुईजना भने बाहिरबाट उपचार गराउन उपत्यका आएका हुन् । तर, उनीहरुको पनि संक्रमण स्रोत पत्ता लागेको छैन ।

१७ गते उपत्यकामा १७ जना संक्रमित भेटिए । उनीहरुमध्ये ६ जना हालै मात्र विभिन्न देशबाट फर्किएका हुन् । ३ जना वयोधा अस्पताल र दुई जना अल्का अस्पतालका कर्मचारी हुन् । उनीहरु स्क्रिनिङमा बस्ने गरेको पाइएको छ । बाँकी पाँच संक्रमित ललितपुरको चापागाउँ, हात्तीवन, थसिखेल, नख्खिपोट र भक्तपुर गठ्ठाघरका हुन् । उनीहरुको पनि ट्राभल हिस्ट्री देखिएको छैन ।

ईडीसीडीका अनुसार असार १५, १६ र १७ गते (तीन दिन)मा भेटिएका संक्रमितमध्ये १९ जना उपत्यकावासी हुन् । तर उनीहरुको न ट्राभल हिस्ट्री छ, न संक्रमणको स्रोत पत्ता लागेको छ ।

भाइरोलोजिस्ट समेत रहेका ईडीसीडीका प्रमुख डा. पाण्डे भन्छन्, ‘छिटफुटरुपमा लोकल ट्रान्समिसन (स्थानीयमा संक्रमण) देखिएको छ । यसको लेभल के हो भन्ने चिन्ताको विषय हो ।’

तर, सुस्त छ कन्ट्याक ट्रेसिङ ट्राभल हिस्ट्री नभएका मानिसमा छिटफुट संक्रमण पुष्टि हुँदा पनि कन्ट्याक ट्रेसिङ भने सुस्त छ । यसका लागि इडीसीडीको सर्भिलेन्स शाखामा शुक्रबार विहान देखिएको एउटा दृश्य काफी छ ।

बिहान साढे १० बजे इडीसीडीका सर्भिलेन्स शाखा, टेकुमा पुग्दा एक व्यक्ति निकै तनावमा देखिन्थे । फोन बारम्बार बजिरहेको थियो । उनी फोन उठाएजतिलाई जवाफ दिन्थे, ‘नअत्तालिनुस्, म इडीसीडी आ’को छु । कन्ट्याक ट्रेसिङका लागि पहल गर्छु ।’

उनी थिए शहरी स्वास्थ्य केन्द्र तारकेश्वर ४ का कर्मचारी । बुधबार तारकेश्वर नगरपालिका-४ की ५४ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भयो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि पुगेका बेला कोभिड-१९ को शंका लागेर उनको स्वाब संकलन गरिएको थियो ।

तारकेश्वरदेखि शिक्षण अस्पतालबाहेक उनको ट्राभल हिस्ट्री छैन । दमको रोग भएकाले घरमै बसेकी थिइन् । तर, ट्राभल हिस्ट्री नभएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय मात्र होइन, जनप्रतिनिधिहरु पनि अत्तालिएका छन् ।

तर, संक्रमण पुष्टि भएको २४ घण्टासम्म पनि इडीसीडीको टोली कन्ट्याक ट्रेसिङ गर्न गएको छैन । जबकि यस्तो बेला जतिसक्दो चाँडो कन्ट्याक ट्रेसिङ गर्नुपर्छ, ताकि सम्भावित संक्रमित अरुको सम्पर्कमा नपुगुन् । तर, तारेकेश्वरको घटनामा भने ठीक उल्टो भयो । त्यसैले शहरी स्वास्थ्य केन्द्रका कर्मचारी टेकुस्थित इडीसीडीको सर्भिलेन्स शाखामा पुगेका थिए । उनी भन्दै थिए, ‘२ घण्टादेखि कुरिरहेको छु, यहाँका हाकिमहरुको मिटिङ सकिएको छैन ।’

केही समयपछि सर्भिलेन्स शाखाका कर्मचारी महेन्द्रध्वज अधिकारी आइपुगे । शहरी स्वास्थ्य केन्द्रका कर्मचारीले घटनाको बेलिबिस्तार लगाए । उनका कुरा सुनेपछि महेन्द्रध्वजले भने, ‘हिजो संक्रमण पुष्टि भएको केस रहेछ । त्यसको डिटेल हामीकहाँ आइपुगेको छैन । आएपछि कन्ट्याक ट्रेसिङ सुरु गर्छौं ।’

‘तपाईहरुलाई त्यो केसको जानकारी कसले दिन्छ ?’ कर्मचारीको प्रश्नमा महेन्द्रध्वजले जवाफ दिए, ‘सबै संक्रमितको तथ्यांकको जानकारी दिने हाम्रो अर्को टिम छ । त्यो टिमले तथ्यांक संकलन गरेर दिएपछि कन्ट्याक ट्रेसिङ सुरु गर्छौं ।’

ईडीसीडीको केन्द्रीय टोलीलाई संक्रमितको सम्पूर्ण जानकारी आइसकेपछि कन्ट्रयाक ट्रेसिङको योजना बनाइने महेन्द्रध्वज बताउँछन् । उनका अनुसार कन्ट्याक ट्रेसिङ ईडीसीडीका साथै सम्बन्धित वडा तथा नगरपालिकाले पनि गर्छ ।

ईडीसीडीको कार्यालयमा सुनिएको यो संवादले हाम्रो कन्ट्याक ट्रेसिङ चुस्त नभएको प्रष्ट पार्छ ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो ।

उपत्यकामा पछिल्लो समयमा देखिएका अधिकांश केसको कन्ट्याक ट्रेसिङ ढिलो मात्र हुने गरेको गुनासो आएको छ । कतिसम्म भने संक्रमितहरु कुन ठाउँका हुन् भन्ने सूचना पाउन समेत ईडीसीडीलाई २/३ दिन लाग्ने गरेको पाइएको छ ।

कन्ट्याक ट्रेसिङ किन भएन ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डे कन्ट्याक ट्रेसिङ भइरहेको तर केही केसको संक्रमण स्रोत पत्ता लगाउन गाह्रो रहेको बताउँछन् । ट्राभल हिस्ट्री नभएको र संक्रमितसँग सम्पर्कमा नआएका मानिसमा समेत संक्रमण देखिएकाले स्रोत पत्ता लगाउन गाह्रो भएको उनको कथन छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम हरेक मानिसले ‘म संक्रमित हुनसक्छु, मैले अरुलाई संक्रमण सार्न हुन्न’ भनेर सचेतना नअपनाएसम्म कोरोना संक्रमणको स्रोत पत्ता लगाउन गाह्रो हुने बताउँछन् ।

उनी एक उदाहरण दिन्छन् ।

कोही एक मानिस हरेक बिहान तरकारी लिन बजार जान्छ । दिउँसो काम परेर अस्पताल जान्छ । र, त्यहीँबाट अफिस पनि जान्छ । खाजा खान पसल छिर्छ । यो बीचमा उसले दर्जनौं मानिससँग भेट गर्छ । उनीहरुमध्ये एक जनालाई मात्र कोरोना संक्रमण रहेछ भने उसलाई पनि सर्न सक्छ । र, संक्रमण पुष्टि भएपछि ती मानिसलाई कुन दिन, कहाँबाट संक्रमण भयो भन्ने पत्ता लगाउन गाह्रो हुन्छ । प्रा. डा. गौतम भन्छन्- यही कारणले संक्रमण स्रोत पत्ता लगाउन गाह्रो भएको हो । उनले भने, ‘हामीले सामाजिक दुरी कायम गरेनौं र अनावश्यक हिँडडुल गर्‍यौं भने संक्रमण कहाँबाट, कुन दिन सरेको थाहै हुन्न ।

कहाँकहाँ भेटिएका छन् संक्रमित ?

ईडीसीडीको अनुसार असार १८ गतेसम्म १८४ जना संक्रमित उपत्यकामा भेटिएका छन् । पछिल्लो चार दिनमा मात्र ७४ जनामा संक्रमण पुष्टि भएको छ । तर, उनीहरु सबै उपत्यकाका होइनन् । विभिन्न देशबाट चार्टर फ्लाइटबाट आएका, बाहिरबाट उपचारका लागि आएकाहरु पनि यसमा छन् ।

१८ गते उपत्यकामा भेटिएका ३२ जनामध्ये कति उपत्यकामा बसोबास गर्दै आएका र कति अरु हुन् भन्ने खुलेको छैन भने त्यसअघिका १९ जना मात्र उपत्यकावासी हुन् ।

ईडीसीडीका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकाका ३० भन्दाबढी ठाउँमा संक्रमित भेटिएका छन् ।

जसमा गोकर्णेश्वर, जोरपाटी, नयाँ बानेश्वर, नख्खिपोट, धापासी, ठमेल, बालाजु, बालुवाटार, जोरपाटी, प्युटार, कपन, भैंसेपाटी, चाँगुनारायण, बुढानीलकण्ठ, टेकु, नारायणहिटी, गोकर्णेश्वर, नख्खु, साँखु, थापागाउँ, सुकेधारा, ओमबहाल, चन्द्रागिरी, खुशिबु, टीकाथली, व्यासी, गोकर्णेश्वर, सोह्रखुट्टे, कमलविनायक, टोखा, सिनामंगल, लुभु, हात्तीवन, थसिखेल, चापागाउँ छन् ।

महामारीको जोखिम बढ्यो

पछिल्लो तीन दिनमा भेटिएका १९ जना संक्रमितको संक्रमण स्रोत पत्ता नलाग्नुले काठमाडौं उपत्यकामा स्थानीय स्तरमा संक्रमण भएको पुष्टि हुन्छ । तर, यो समुदायमा फैलिएको हो वा छिटफुट मात्र हो भन्ने भन्न गाह्रो हुन्छ ।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला यस्तो अवस्थामा कन्ट्याक ट्रेसिङ चुस्त नहुँदा संक्रमण दर बढ्ने मात्र होइन, समुदायमा फैलिने सम्भावना हुने बताउँछन् ।

विज्ञहरुले यसलाई स्थानीय संक्रमणको झिल्को मान्छन् र कन्ट्याक ट्रेसिङबाट ९० प्रतिशत संक्रमित पत्ता लगाउन सकियो भने झिल्कोबाट डढेलोका रुप लिन पाउँदैन । ‘थोरै संक्रमित हुँदा जनशक्ति थप गरेर कन्ट्याक ट्रेसिङ गर्न सक्ने हो भने धेरै हदसम्म महामारी नियन्त्रण गर्न सकिन्छ,’ डा. बास्तोला भन्छन्, ‘नभए गाह्रो हुन्छ ।’

Related Articles

Back to top button
Close