समाचार

ओली निकट स्थायी समिति सदस्यसँग खुमलटारमा प्रचण्डको वैठक

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा मागिरहेका अर्का अध्यक्ष पुष्प कमल दाहालले बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा ओली निकट स्थायी समिति सदस्यलाई छलफलका लागि बोलाएका छन्।

खुमलटार श्रोतले अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली पुगेको जानकारी सेतोपाटीलाई दिएको छ।यसैगरी छलफलका लागि प्रचण्ड-नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका छन्।

हिजो बुधबारमात्रै प्रचण्ड तथा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले आज बिहीबार बस्ने स्थायी समितिको वैठकमा अपनाउने रणनीतिका बारेमा छलफल गरेका थिए।

वैठकमा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल,गृहमन्त्री रामबहादुर थापा लगायत भेलामा उपस्थित थिए। मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै उनीहरूले राजीनामा मागेका हुन्।

पार्टीभित्र आफूविरूद्ध बढेको विरोधका बारेमा छलफल गर्न ओलीले बुधबार अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई बालुवाटार बोलाएर छलफल गरेका थिए।

स्थायी समिति वैठकमा आफ्नो राजीनामाको माग भएपछि ओलीमाथि नैतिक दबाब सिर्जना भएको ठानिएको छ।नेकपाको पछिल्लो स्थायी समिति वैठकमा देखिएको विरोधले प्रचण्ड-नेपाल गुटको अंकगणित बलियो बनेको र उनीहरूले ओलीलाई दुबै पदबाट राजीनामा दिनुपर्ने राजनीतिक निर्णय गराउन सक्ने अनुमान छ।

यो राजनीतिक निर्णयले ओलीमाथि राजीनामाको नैतिक दबाब परेपनि राजीनामा दिन संवैधानिक रूपमा बाध्य भने बनाउने छैन।यसपछि प्रधानमन्त्रीलाई संसदीय दलको नेताबाट हटाएर तथा पार्टीबाट कारबाही गरेर पदमुक्त गर्दै हटाउने दुई वटा विकल्प नेकपासँग छ।

Related Articles

Back to top button
Close