समाचार

साढे तीन सय जनाले शुल्क तिरेर गरे कोरोना परीक्षण, कति लाग्छ खर्च?

शुल्क तिरेर कोरोना भाइरस परीक्षण गराउन सकिने भएपछि साढे तीन सय बढी व्यक्तिले पिसिआर विधिबाट परीक्षण गराएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वेच्छाले परीक्षण गर्न चाहनेको लागि उपत्यकाका तीन वटा अस्पताल तोकेको छ। जसमा वीर, टिचिङ र पाटन अस्पताल छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणविहीन, भिसा र निरोगिताको प्रमाणपत्र चाहिएको व्यक्तिले स्वेच्छाले यी तीन अस्पतालबाट शुल्क तिरेर परीक्षण गर्न सकिने जनाए।मन्त्रालयले यसको लागि परीक्षण शुल्क ५ हजार ५ सय तोकेको छ। टिचिङ अस्पतालका चिकित्सक सन्तकुमार दासले झन्डै २ सय ५० व्यक्तिले शुल्क तिरेर परीक्षण गराएको जानकारी दिए।

उनले त्यसरी परीक्षण गराउने अधिकांश विदेशबाट आएका व्यक्ति रहेको उनले जनाए। वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले पनि एक सयभन्दा बढी मानिसको शुल्क लिएर परीक्षण गरिएको बताए।’शुल्क तिरेर परीक्षण गराउनेमा कोही बाहिरबाट आएका छन्, कोही निजी अस्पतालमा शल्यक्रिया गर्ने विरामी हुन्छन् र कोही संस्थाले भनेर परीक्षण गराउन आएका हुन्छन्,’ उनले भने।

पाटन अस्पतालले भने त्यसरी शुल्क तिरेर परीक्षण गर्नेको तथ्यांक राखेकाे छैन।अस्पतालका निर्देशक डा. विष्णु शर्मा भन्छन्, ‘शुल्क तिरेर परीक्षण गर्नेको विवरण लिन भनिएको छ। भोलिसम्म संख्या थाहा हुन्छ।’मन्त्रालयले कोभिड-१९ टेस्टिङ सम्बन्धि नयाँ निर्देशिका जारी गरेपछि लक्षणविहीन व्यक्तिहरू परीक्षणको दायराबाट वञ्चित भएका हुन्।

निर्देशिकामा लक्षणविहीन व्यक्तिहरूको पिसिआर परीक्षण गर्नु नपर्ने उल्लेख छ। त्यसैले कतिले आफू ढुक्क हुनुलाई शुल्क तिरेर परीक्षण गर्ने गरेका छन्।अहिले लक्षणविहीन व्यक्तिको प्रोटोकलमा नपर्ने भन्दै प्रयोगशालाहरूले परीक्षण गर्न मान्दैनन्। विज्ञहरूले भने कोरोना संक्रमितहरूमध्ये अधिकांशमा लक्षण नदेखिने भन्दै निर्देशिकाले परीक्षण हुनुपर्ने व्यक्तिलाई पनि वञ्चित गरेको बताउँदै आएका छन्।

यसरी प्रोटोकलमा नपरेका व्यक्तिहरू आफैं शुल्क तिरेर परीक्षण गराउँदै आएका छन्। लक्षण देखिएका र निर्देशिकाभित्र परेका व्यक्तिहरूको भने निशुल्क नै परीक्षण हुँदै आएको छ।

सरकारले अहिले उपत्यकाका तीन अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्न अनुमति दिएको छ। जसमा प्रयोगशालाले आफ्नो परीक्षण क्षमताको २५ प्रतिशत कोटा शुल्क तिरेर परीक्षण गर्ने व्यक्तिको लागि छुट्याउन सक्छन्।

वीर अस्पतालका निर्देशक सेन्चुरीले पनि प्रयोगशालाको दैनिक १५० परीक्षण क्षमतामध्ये ३१ वटा शुल्क तिरेर परीक्षण गर्न चाहनेको लागि छुट्याइएको जानकारी दिए।

गत असार १७ गते मन्त्रालयले स्वेच्छाले परीक्षण गर्न चाहनेलाई शुल्क तिरेर परीक्षण गराउन सक्ने निर्णय गरेको थियो। त्यसयता यी तीनटा अस्पतालबाट शुल्क लिएर परीक्षण हुँदै आएको छ।

Related Articles

Back to top button
Close