समाचार

सनम शाक्यकी आमा भन्छिन्– काख रित्याउनेलाई जन्मकैद होस्

त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका सनम शाक्यको हत्या भएको दुई वर्ष बितेको छ । चूडामणि उप्रेती (गोरे) समूहले यातना दिएर २०७४ फागुन १७ गते मोरङमा शाक्यको हत्या गरेको थियो । उनको शव फागुन १८ गते बिहान बिराटनगरमा भेटिएको थियो ।

शाक्यको शव भेटिएपछि सुन तस्करी प्रकरणको जालो पत्ता लागेको थियो । गोरेसहितको समूहले विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी गरेको निष्कर्षसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन आयात गरेको दाबीसहित मुद्दा दायर भएको थियो ।

यो सुनकाण्डको मुद्दा अहिले मोरङ जिल्ला अदालतमा छ । दुई वर्षको अवधिमा मुद्दाको पेशी चढेको छैन । अदालतका सूचना अधिकारी युवराज पौडेल प्रतिवादीको म्याद बुझाउनै समय लागेका कारण मुद्दाको पेशी चढ्ने क्रममा रहेको बताउँछन् ।

त्रिभुवन विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएपछि नाइके भनिएका चूडामणि उप्रेती गोरेसहितको समूहले यातना दिँदा भरिया शाक्यको उर्लाबारीको मंगलबारेस्थित जंगलमा हत्या भएको थियो ।

शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिको सिफारिसपछि जिल्ला सरकारी वकिलको कार्यालयले दुई पूरक अभियोगसहित ७५ जनालाई विपक्षी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

अनुसन्धानको विस्तृत प्रतिवेदन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको थियो । तीनसय भन्दा बढीमाथि अनुसन्धान गर्नुपर्ने नामावलीसहित बुझाएको प्रतिवेदन लामो समयसम्म गुपचुप राखिएको छ ।

दुई वर्षमा न न्याय, न क्षतिपूर्ति

सामान्य परिवारका सनम शाक्य कल्पना शाक्यका जेठा छोरा हुन् । एक सन्तान, श्रीमती र आमासहितको परिवारको जिम्मेवारी सनममाथि नै थियो । काम लगाउँछु भन्दै काठमाडौं लिएर गएका गोरेले सनमलाई सुन तस्करीको काममा लगाएका थिए । तर, शाक्यले परिवारलाई ठेक्काका काममा हिसाब–किताब हेर्नुपर्ने भनेर ढाँटेका थिए ।

एक्कासी घरदेखि केही परको जंगलमा हत्या गरी शव बिराटनगरमा ल्याएपछि मात्र सनमको परिवारले घटनाबारे जानकारी पाए ।

‘मेरो छोरो मार्नेलाई आजीवन जेल सजायँ होस्,’ आमा कल्पनाले भनिन्, ‘मान्छे मार्न कसैलाई छुट छैन ।’

जेठो छोरो सनमको हत्या भएपछि शाक्य परिवारको दुई वर्ष दुःखै दुःखमा बित्यो । शाक्यका छोरा कक्षा ५ मा पढ्छन् । ‘बुहारी सानोतिनो सहकारीमा काम गर्छे,’ कल्पनाले भनिन् ‘महिनामा आउने ५/६ हजारले नाति पढाएर घर चलाउनुपरेको छ ।’

शाक्य परिवारले यो दुई वर्षमा न न्याय पायो, न त क्षतिपूर्ति । राज्यले सुन तस्करीको जालो भत्काएको दाबी गरिरहँदा कल्पनाले छोरो गुमाएकी छन् । उनी हत्यामा संलग्न गोरे छुट्छन् कि भन्ने चिन्तामा छिन् । उनी भन्छिन्, ‘मेरो परिवार दुःखैले चलाउछौं, मेरो काख र बुहारीको सिन्दुर खोस्नेलाई जन्म कैदभन्दा बढी सजायँ होस् ।’

सनमका काका धर्मराज शाक्यले अनलाइनखबरसँग भने, ‘सरकारले उपलब्धी हासिल गरें भन्छ, तर पीडित परिवारलाई क्षतिपूर्ति दिएको छैन । नेताहरुलाई गुनासो गर्दा वास्तै गर्दैनन् ।’

कसरी भएको थियो सनमको हत्या ?

त्रिभुवन विमानस्थल हुँदै भित्रिएको तस्करीको सुन चोरेको आरोपमा आफ्नै ग्याङमाथि केरकार गरिरहेका गोरेसहितको समूहले मृतक शाक्य, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई एकै ठाउँमा राखेर चरम यातना दिए । यातनाकै कारण शाक्यको मृत्यु भयो । कार्की र काफ्ले भने भाग्यले बाँचे ।

२०७४ फागुन पहिलो सातादेखि नै केरकार गर्दै आएको गोरे समूहले फागुन १२ गतेदेखि नरेन्द्र कार्कीलाई यातना दिन सुरु गरेको थियो । काठमाडौंमा पटक–पटक यातना पाएपछि १८ गते बिहान करिब ६/७ बजे गोरे, मोहन काफ्ले, भोजराज भण्डारी र दाबा शेर्पा चढेको गाडी कान्छीचोकको जंगलमा पुग्यो । कृष्ण चढेको गाडी पुग्दा खाना पकाई खाएको ठाउँमा मोहन काफ्लेका हातखुट्टा बाँधेर गोरेले पाइपले कुट्दै थिए ।

Related Articles

Back to top button
Close