समाचार

प्रधानमन्त्रीले भारतलाई भने- केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिएका छन्।आइतबार बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के-के भइरहेको छ भन्ने देखाइरहेको बताए।

‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोशिस गर्नेलाई गर्न दिऔं। कसैले हतार नगरे हुन्छ। मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन। यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न। आजका लागि होइन भोलिका लागि। आफ्ना लागि होइन देशका लागि।’

कतिपयले नयाँ नक्सा छापेपछि नेपाललाई झन् गाह्रो हुने बताए पनि त्यस्तो केही गाह्रो नहुने बताए।‘गाह्रो के हुन्छ जमिन गएको थियो। त्यो फिर्ता लिन खोज्दा गाह्रो भन्या के। एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न पाएनौं। ५८ वर्षदेखि खोसियो। हाम्रो जमिन हो। अरूको जमिन अतिक्रमण गरेको होइन कुनै गल्ती गरिएको छैन,’ उनले भने।

उनले नेपालको नागरिकता खल्तीमा राखेर भारतको पक्षमा तर्क गर्नेहरू पनि भएको बताएका छन्।‘खल्तीमा नेपाली नागरिकता छ तर्क अर्काको पक्षबाट गरेको छ। १९६२ मा सेना राखेपछि कसरी त्यहाँका नागरिकसँग सम्बन्ध हुन्छ। कालापानीमा सेना राखेर उता जानै दिएका छैनन्। नागरिकता रासन कार्ड कसले दिएको छ त्यसबारे नेपालका नागरिकताधारीहरूले उठाइराखेका छन्,’ प्रधानमन्त्री ओलीले भने।

Related Articles

Back to top button
Close