समाचार

काठमाडौं महानगरको झिलिमिली कार्यक्रम : ७५ लाख खर्चेर बत्ती जोडिँदै

१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालिन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षण थालेको छ । यसको सुरूवात माइतीघर मण्डलाबाट गरिएको छ । माइतीघर मण्डलामा अब साँझको सयममा पुग्दा झिलिमिली देख्न पाइनेछ । त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जोडिएको छ ।

काठमाडौँ महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली सहरको सौदर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने ‘एलइडी कलर पाइप लाइट’ जडानको कार्यक्रम अघि बढाएको बताउँछन् । ‘सबै भन्दा बढी चहल–पहल हुने र आवत–जावत पनि बढी हुने माइतीघर मण्डलामा हामीले नमूना परिक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ,’ ज्ञवाली भन्छन्, ‘विश्वका विभिन्न सहरमा सहरको रात्रिकालिन जिवनलाई जिवन्तता दिन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइन्छ । हामीले पनि रात्रिकालिन सहरको सौदर्य बढाउन यसो गरेका हाैं।’

आगामी दिनमा बढी चहलपहल हुने, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचीमा सूचीकृत स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने उनले बताए । महानगरका केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वका रुपमा बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।

कार्यक्रमले रात्रीकालिन व्यवसायबाट अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ । उनले यसबाट कम खर्चमै रात्रिकालिन चहलपहल बढ्ने र फुटपाथ पसललाई न्युनीकरण केही हदसम्म सहयोग पुग्ने बताए ।

विस्तारै नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि यस्ता बत्ती जडान गर्ने जानकारी दिए । ज्ञावालीले आगामी आर्थिक वर्षका लागि रंगिचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

‘हामी विभिन्न संघ–संस्थासँग सहकार्य गरेर पनि अघि बढ्ने सोँच बनाएका छौँ,’ उनले भने, ‘सहरमा रात्रीकालीन सुरक्षाका लागि पनि यो जरुरी छ । सडकमा प्रशस्त प्रकाश भएपछि सीसीटीभी क्यामराको प्रभावकारिता समेत बढ्छ ।’

उनले असोज–कात्तिकसम्ममा सहरका पाँच–सात स्थानमा यस्तो बत्ती जडान गर्ने जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले यो वर्षको नीति तथा कार्यक्रममा समेत काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईटहरु जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्नेलगायतका लक्ष्य लिएको छ ।

Related Articles

Back to top button
Close