समाचार

राजु सदाको मृत्युले देखाएको कोरोना नियन्त्रणको अस्तव्यस्त तस्बिर

जनकपुर प्रादेशिक अस्पतालमा धनुषाका १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएपछि क्वारेन्टिनको भद्रगोल र अस्पतालको लापरबाहीले उनको ज्यान गएको भन्दै आलोचना भइरहेको छ।भारतबाट जेठ १४ गते घर फर्किएका राजुले ज्यान गुमाउनुमा क्वारेन्टिनको भद्रगोल, अस्पतालको कमजोरीसँगै अविश्वनीय र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)ले मुख्य भूमिका खेलेको देखिन्छ।

भारतको मदरासबाट अनेक हण्डरठक्कर खाएर आएका राजुलाई हंसपुर नगरपालिका-७ को क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडिटी परीक्षण गरियो। आरडिटीमा राजुको रिपोर्ट पोजेटिभ आएको थियो। एक-दुई दिनपछि उनले आफूलाई सन्चो नभएको बताए।

आरडिटी रिपोर्ट पोजेटिभ आएको मान्छे बिरामी परेपछि नगरपालिकाका स्वास्थ्यकर्मीले उनलाई के भएको हो भनेर जाँच्ने जोखिम लिएनन्।हंसपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बुधेश्वर यादवले जनकपुरमै राम्रो उपचार हुने भनेर उनलाई पठाइएको बताए।

‘बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने नियमअनुसार नै उनलाई पनि त्यहाँ राखिएको थियो, बिरामी भएपछि यहाँभन्दा राम्रो उपचार जनकपुरमा हुने सोचेर हामीले उनलाई रिफर गरेका हौं,’ यादवले भने।

नगरपालिकाले उनलाई रिफर त गर्‍यो तर उनको बिरामी अवस्थाको अलिकति पनि ख्याल गरेन। क्वारेन्टिनमा कोही बिरामी परे अस्पताल लैजाने एम्बुलेन्स हुनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख छ।

हंसपुर नगरपालिकाले भने बिरामले छटपटाइरहेका राजुलाई अस्पताल लैजाने एउटा एम्बुलेन्स पाएन। उपप्रमुख रेणु झाले एम्बुलेन्सवालाहरूले बिरामी बोक्न नमानेपछि टिपरमा पठाउनु परेको बताइन्।

‘भारतबाट आएकालाई लिन जानुपर्दा एम्बुलेन्सवालाहरू आनाकानी गर्छन्। उनलाई तत्काल अस्पताल लैजानु पर्ने थियो। त्यही भएर नगरपालिकामा रहेको सामान बोक्ने टिपरमै उनलाई अस्पताल पुर्‍याएका हौं,’ उनले भनिन्।

क्वारेन्टिनमा यति धेरै अव्यवस्था छ कि वडा नम्बर ७ का वडाध्यक्ष रामसेवक मण्डलले त राजुलाई कसरी अस्पताल लगिएको हो भन्ने नै आफूलाई थाहा नभएको बताए।‘किशोरलाई सन्चो थिएन भन्ने सुनिरहेको छु। २८ गतेतिर उनलाई जनकपुरधामको कोरोना अस्पताल पठाइएको भन्ने जानकारी छ तर टिपरमा लगिएको हो भन्ने मलाई थाहा छैन,’ उनले भने।

अस्पतालमा आएपछि राजुलाई आइसोलेसन कक्षमा राखियो। आरडिटीमा रिपोर्ट पोजेटिभ आएका उनलाई कोरोना भएको हो कि होइन भन्ने थाहा पाउन पिसिआर परीक्षण गर्नुपर्ने भयो।जेठ २९ गते उनको स्वाब निकालियो। जनकपुर प्रदेश अस्पतालको छेउमै रहेको प्रयोगशालामा परीक्षणका लागि पठाइयो। तर उनको रिपोर्ट आउन ११ दिन लाग्यो।

असार ८ गते बिहान उनको पिसिआर परीक्षणको नतिजा आयो। उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएन। त्यतिञ्जेलसम्म कोरोना हो कि भनेर आइसोलेसनमा राखिएका राजुलाई डाक्टरले जनरल वार्डमा सारे। तर त्यही रात उनको मृत्यु भयो।

उनको रिपोर्ट आउन किन यति ढिला भयो त?यसबारे पनि अस्पताल र प्रयोगशालाका आ-आफ्नै तर्क छन्। प्राविधिक प्रयोगशालाका निमित्त प्रमुख डाक्टर रामविनय साहले स्वाबको थुप्रो लागेकाले गम्भीर बिरामीको स्वाब आफूहरूले पहिला परीक्षण गर्ने बताए।

‘स्वाब पठाउँदा नै कुन स्वाब आइसोलेसनका बिरामीको हो कुन स्वाब क्वारेन्टिनमा रहेका सामान्य मान्छेको हो भन्ने स्पष्ट लेखेर पठाउनु भनेका छौं,’ साहले भने,‘राजुको स्वाबमा उहाँहरूले केही लेखेर पठाउनु भएन। हामीले सामान्य हिसाबले जाँच्दा ढिला भएको हो।’

जनकपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले राजुको स्वाबमा गम्भीर बिरामी भनेर लेखेको भए पनि प्रयोगशालाले छिटो रिपोर्ट नदिएको बताए।

‘हामीले लेख्नु पर्ने कुरा लेखेका थियौं तर उहाँहरू १०-५ मामात्र काम गर्नुहुन्छ अनि कसरी चाँडो सकिन्छ परीक्षण?’ उनले भने।आफ्नो छोराको मृत्यु प्रादेशिक अस्पतालका चिकित्सक र क्वारेन्टिनमा खटिएका व्यक्तिहरूको लापरबाहीका कारण भएको राजुको परिवारको आरोप छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सिंहले भने आइसोलेशन भर्ना गरिएका राजुमा इन्सेफ्लाइटिसको लक्षण देखिएकाले सुरूदेखि नै आफूहरूले त्यसको औषधी दिएको बताए।

‘उनको आरडिटी पोजेटिभ आएकाले आइसोलेसनमै राखेर इन्सेफ्लाइटिसको उपचार गरिएको थियो,’ सिंहले भने ‘इन्सेफ्लाइटिसमा टाउको दुख्नु, छट्पटाउनु स्वभाविक हो, यो चिकित्सकको लापरबाही होइन रोगको लक्षण हो।’

Related Articles

Back to top button
Close