समाचार

बिरामी छ मान्छेले बाँधेर हिँडाएको चितुवाको बच्चा

चितुवाको बच्चालाई बाँधेर एक हुल मानिसले डोर्‍याइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडिओमा घरपालुवा जनावरलाई झैं घाँटीमा डोरी बाँधेर चितुवालाई डोर्‍याएको प्रष्ट देखिन्छ। चितुवा डोर्‍याएको भिडिओमा प्रहरी पनि देखिन्छ। चितुवासँग सेल्फी खिच्नेहरू पनि थुप्रै छन्।

पर्वतको जलजला गाउँपालिका-७ लामागराबाट नियन्त्रणमा लिएको चितुवाको बच्चा जिल्ला वन कार्यालयमा लैजाने क्रममा यसरी डोर्‍याइएको हो।स्थानीय महिलाले सोमबार साँझ घाँस काट्न जाँदा उक्त चितुवाको बच्चा देखेका थिए। उनीहरूले चितुवा देखेको भन्दै गाउँलेलाई खबर गरे। गाउँलेले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी मिलनचोकको प्रहरी टोली र स्थानीयले उक्त चितुवाको बच्चा समातेका थिए।

चितुवाको बच्चा सजिलै समाउन सकेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर मनिष श्रेष्ठले बताए।‘गाईको बाच्छाजस्तै सन्तोकी रहेछ चितुवाको बच्चा,’ उनले सेतोपाटीलाई भने,‘नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय पर्वतमा बुझाउँदासम्म केही गरेन।’ सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ प्रहरीले नियन्त्रणमा लिएर ल्याउँदै गर्दाको भएको उनले बताए।

उक्त चितुवाको बच्चा बिरामी अवस्थामा रहेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख अशोककुमार श्रेष्ठले बताए।उनका अनुसार चितुवाको बच्चाको शरिरमा कुनै चोट नदेखिए पनि बस्न सकेको छैन। बिरामी भएकै कारण नियन्त्रणमा लिएर आउँदा आक्रमणमा उत्रन नसकेको उनको भनाइ छ।

चितुवाको बच्चालाई अहिले पर्वतस्थित पशुचिकित्सक र चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सकसँग समन्वय गरेर सामान्य उपचार गरेर राखिएको छ। डिभिजन वन कार्यालयमै कुखुराको मासु खुवाएर राखेको वन प्रमुख श्रेष्ठले बताए।‘चितुवाको बच्चा अहिले बस्न पनि सकेको छैन, लठ्ठ परेको छ,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘तङ्ग्रियो भने खोरमै पनि तहल्का पिट्छ।’

लठ्ठ परेकै कारण नियन्त्रणमा लिन र डोर्‍याएर ल्याउँदा आक्रमणको कुनै प्रयास नगरेको उनको भनाइ छ।चितुवाको बच्चालाई सामान्य उपचारबाटै सञ्चो भयो भने नजिकको जंगल वा चिडियाखानामा छोड्ने र थप उपचार गर्नुपर्ने अवस्था आयो भने चितवन राष्ट्रिय निकुञ्ज पठाउने श्रेष्ठले बताए।

Related Articles

Back to top button
Close