समाचार

बाँकेमा नाला खन्दा ६ किलो चाँदीको शिव मूर्ति फेला

बाँकेको नेपालगञ्जमा नाला खन्ने क्रममा शिव भगवानको चाँदीको मूर्ति फेला परेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगंजस्थित फोहोरको नाला खन्ने क्रममा शिव भगवानको चाँदी जस्तो देखिने ६/७ किलोको मूर्ति फेला परेको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता एसपी राजकुमार बैदवारले जानकारी दिए।

नेपालगञ्ज वडा नं. ७ का वडाध्यक्ष जमुन खाँले डोजेरले खनेको नालामा ४ जना बालकले त्यो मूर्ती फेला पारेको बताए।‘डोजरले खनेको नालामा चार बालबालिकाले मूर्ति फेला पारेपछि टोलमा हल्ला भयो,’ अध्यक्ष खाँले भने, ‘त्यसपछि मलाई खबर भयो र मैले मेयरसापलाई खबर गरेर बोलाएपछि मूर्ति तत्काललाई सुरक्षित स्थानमा राखिएको छ।’

मूर्ति कुन धातुबाट बनेको छ भनेर जाँच्नको लागि स्थानीय केही सुनारहरूलाई झिकाएर चेक गर्दा धेरैले मूर्ति चाँदीकै भएको भन्ने दाबी गरेको अध्यक्ष खाँले बताए।‘अधिकांशले फेला परेको शिव भगवानको मूर्तिलाई चाँदीको भन्ने दाबी गरेका छन् र केहीले चाँदी, पित्तल र अल्मुनियमबाट निर्मित मूर्ति भनेका छन्,’ वडाध्यक्षले खाँले थपे, ‘यसलाई राम्रोसँग धातु विज्ञबाट जाँच गराउन बाँकी नै छ।’

उनले मूर्ति फेला परेको बारेमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत सबैलाई जानकारी गराएको बताए।‘हामी प्रचलित नियम अनुसार प्रजिअलाई बोलाएर उक्त मूर्ति हस्तान्तरण छिट्टै गर्नेछौं,’ खाँले भने, ‘तत्काललाई भने सुरक्षाको लागि शिव भगवानको उक्त मूर्ति स्थानीय मन्दिरमा राखिएको छ।’

आइतबार बेलुका फेला परेको उक्त मूर्तिलाई नेपालगञ्जका मेयर डा. धवलशम्सेर जबरा, वडा नम्बर- ७ का वडाध्यक्ष जमुन खाँ र स्थानीयको रोहवरमा स्थानीय राम जानकी मन्दिरमा राखिएको छ। मन्दिरमा मूर्ति राखेपछि त्यसको दर्शन गर्न आउनेहरूको भीड लाग्न थालेको वडाध्यक्ष खाँले सेतोपाटीलाई बताए।

Related Articles

Back to top button
Close