समाचार

मलेसियाबाट फर्किएका महिलाको पीडा : ‘प्रहरीले पक्रिएर चौकी होइन लज पुर्‍याउँथे’

पाँचथरकी धनमाया लिम्बु (नाम परिवर्तन)ले मलेसिया वैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोगेर फर्किएको बताइन् । मलेसिया रोजगारीका लागि झुक्किएर पनि नेपाली महिलाहरूलाई नजान उनी सुझाव दिन्छिन् । मलेसिया रोजगारीका लागि गएका महिला मात्र होइन पुरुष कामदार पनि धेरै पीडित भएर काम गरिरहेको उनले बताइन् ।

‘मलेसिया रोजगारीका लागि ६ वर्षअघि पुगेकी थिए । नेपालबाट कोशी इन्टरनेशलन म्यानपावरमार्फत् विद्यालय क्लिनर भिसामा भनेर मलेसिया गएकी हुँ’, उनले भनिन्, ‘तर, मलेसिया पुगेपछि तरकारी ओसार्ने गोदाम भित्रकोे काम पाइयो । मलेसियामा ६ वर्ष काम गर्दा कतिसम्म दुःख पाएको छु, मलाई मात्र थाहा छ । नेपालबाट झुक्याएर म्यानपावरले अर्को काममा पठाएपछि आफू फसेको हुँ ।’  ६ वर्षअघि म्यानपावरलाई ७० हजार रुर्पैयाँ तिरेर उनी मलेसिया गएकी थिइन् ।

प्रहरीको गलफ्रेण्ड र साहुको नक्कली श्रीमती रोजगारीका लागि मलेसिया पुगेको ३ वर्षपछि अवैध भएर काम गर्दा प्रहरीको गलफ्रेण्ड र साहुको नक्कली श्रीमतीसमेत बन्न बाध्य भएको लिम्बुले बताइन् । अवैधरूपमा मलेसियामा बसेर काम गर्ने विदेशी नागरिकलाई मलेसियाली प्रहरीले धेरै दुःख दिन्छन् । पुरुषसँग पैसा र महिलासँग जवानी लिएर छाड्ने गरेको उनको भनाइ छ ।

‘मलेसियाली प्रहरीले अवैध विदेशी महिला कामदार भन्दै पक्रिएर प्रहरी चौकी होइन क्याविन र लजतिर लैजान्छन् । लजमा पुर्‍याएपछि नम्बर लिएर भेट्ने सर्तमा मात्र छोड्छन्’, उनले भनिन्, ‘होटलमा छिरेपछि प्रहरीले अवैधमा रूपमा बसेको महिला कामदारलाई कस्तो गर्लान् आफै बुझनुहोस् । मलेसियामा नेपाली युवतीलाई सामान्य होटलमा लगेर प्रहरीले नै नाङ्गो बनाएर नचाउँछन् । कति पटक आफ्नै आँखाले नेपाली युवतीलाई पोसाक लगाएका प्रहरीले नाङ्गै नचाइरहेको देखेकी छु । मलेसियाका प्रहरी धेरै घुसिया छन् ।’

लिम्बुका अनुसार मलेसियामा नेपाली एजेन्ट र दलाल धेरै छन् । उनीहरूले नेपाली महिला र पुरुषलाई राम्रो कमाई हुने प्रलोभन देखाएर फसाउने गरेको लिम्बुले बताइन् ।

मलेसियामा रोजगारीका लागि गएका धेरै केटा फिलिपिन्स, मलेसियाका मले केटीसँग बिग्रिएर बसेका छन्’, उनले भनिन्, ‘नेपाली केही युवती भारतीय, पाकिस्तानी, श्रीलंका र बंगलादेशका केटासँग बिग्रिएर घर नै नफर्की उत्तै बसिरहेका छन् । मलेसियामा रहेका केही नेपालीले नेपाली महिलालाई अवैध धन्दामा लगाउने गरेका छन् । त्यहाँ रहेका नेपालीले आफ्ना देशका चेलीबेटीलाई नै चिन्दैनन् । उनीहरूले नेपाली होइन जस्तो व्यवहार गर्छन् ।’

मलेसिया रोजगारीका लागि पुगेका धेरै नेपाली कामदार केटी र रक्सीको नसामा बिग्रिएर बसेको लिम्बुले सुनाइन् । ‘मलेसिया खुल्ला देश भएका कारण धेरै नेपाली रक्सी खाएर पेटीमा सुत्छन् । धेरै नेपाली विदेशी केटीसँग लागेर घरपरिवारको माया मारेर मलेसियामै बसेका छन् । कतिपय नेपाली केटाले फिलिपिन्सका केटीसँग विवाह नै गरेर बसेको देखेकी छु ।’

कोेरोना भाइरसको संक्रमण फैलिएसँगै रोजगारी गुमेका धेरै महिला कामदार व्यक्तिको कोठामा बस्न बाध्य भएको धनमायाले जानकारी दिइन् । मलेसियाको घर फिर्ती केन्द्रमा बसेको धेरै नेपाली कामदारले राम्रो खानसमेत नपाएको उनले सुनाइन् ।

३५ वर्षकी लिम्बुसँग अन्य १० जना महिला पनि मलेसियाबाट नेपाल फर्किएका छन् । मलेसिया रोजगारीमा महिला कामदार पठाउन सरकारले बन्द नै गर्नुपर्ने उनको माग छ । मलेसिया रोजगारीका लागि गएका महिला कामदार बाध्यताले आफनो अस्मिता बेचिरहेका छन् ।

मलेसियाबाट १ सय १७ जना रोजगारीमा गएका नेपाली कामदार बिहीबार स्वदेश फर्किएका छन् । कोरोनाका कारण समस्यामा परेका १ सय ५ जना पुरुष र १२ महिला गरी १ सय १७ जनालाई हिमालय एअरलाइन्समार्फत् नेपाल पठाइएको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

मलेसियाबाट फर्किएका प्रत्येकले ४५ हजार १ सय रुपैयाँ तिरेर स्वदेश फर्किएका छन् । मलेसियास्थित नेपाली दूतावासले स्वदेश फर्कंने ७ हजारभन्दा धेरै नेपालीको सूची सावजनिक गरेको छ ।

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुँदै छन् । २० जुन अर्थात् शनिबार नेपाल एअरलाइन्स, २१ जुन आइतबार हिमालय एअरलाइन्स, २५ जुनमा पनि हिमालय एअरलाइन्स र २६ र २७ जुनमा नेपाल एअरलाइन्सले उडान भर्ने छन् ।

Related Articles

Back to top button
Close