समाचार

भारतले नाकाबन्दी लगायो ? ‘माथिको आदेश’ भन्दै २५ ट्रकलाई प्रवेश निषेध !

काठमाडौं – भारतले नेपाली भूमिमा गरेको अतिक्रमणपछि चर्किएको विवादले असन्तुष्ट बनेको भारतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको मेची पुलबाट भारततिर प्रवेश गर्न खोजेका २५ ट्रकलाई निषेध गरेको छ ।भारतको पश्चिम बंगाल सरकारले नेपाली ट्रकलाई निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रकमा रहेको नेपाली उत्पादन मेची पुलमा अड्किएको छ ।

यसअघि नेपालले संविधान जारी गर्दा असन्तुष्ट बनेको भारतले अघोषित नाकाबन्दी गरेको थियो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि यसपालि समेत भारत असन्तुष्ट बनेको छ । कतिपयले असन्तुष्ट भारतले अप्रिय कदम चाल्नेसक्ने अनुमान गरिरहेका बेला भारतीय पक्षबाट नेपाली ट्रकलाई निषेध गरिएको छ ।

लकडाउनको समयमा पनि भारतबाट निरन्तर सामान आयात भइरहे पनि नेपाली वस्तु निर्यातमा अवरोध गरिएको छ । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायी बिचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गर्ने गरिएको भएपनि यसपालि रोकिएको छ ।

भारतीय प्रहरीले मेची पुलबाट नेपाली ट्रकलाई प्रवेश गर्नै दिएको छैन । ‘बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोकेको छ,’ व्यवसायी जैनले भने, ‘गाडी अगाडि जान नदिएपछि फर्काउन पनि मिलेन, सबै गाडी मेची पुलमा अलपत्र परेका छन् ।’सीमा अलपत्र परेका सबै गाडी चिया, अलैंची र अम्रिसोका रहेका व्यवसायीले जनाएका छन् । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात गर्ने गरिएको छ ।

मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दिएको छ । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भने, ‘नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई रहेछ, त्यही भएर सामान रोकिएको छ ।’

Related Articles

Back to top button
Close