समाचार

सार्वजनिक यातायात खोल्ने तयारी गर्दै सरकार, कोरोनाबाट कसरी सुरक्षित रहने ?

काठमाडौं – कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको विभागका महानिर्देशक गोगन हमालले बताएका छन् ।

महानिर्देशक हमालले सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको बताएका छन् । तर विभागले बनाएको निर्देशिकामा व्यवसायीले भने सहमति जनाएका छैनन् ।

विभागका महानिर्देशक हमालले भने, ‘सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन मापदण्ड बनाएको हो, यसलाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल भइरहेको छ ।’ सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरुको खर्च समेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासंघको माग रहेको छ ।

महासंघका महासचिव सरोज सिटौलाले भने, ‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन ।’ ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था ल्याउनुपर्ने भन्दै महासचिव सिटौलाले अनुदान दिएर लगानीको सुरक्षा दिनुपर्ने बताए ।माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउन थाल्ने व्यवसायीको तयारी रहेको छ ।

Related Articles

Back to top button
Close