समाचार

भारत रिसाउँदा नेपाललाई ठूलो खतरा, नेकपाकै पूर्व अर्थमन्त्रीले गराए सचेत !

काठमाडौं – नेपाली भूमि अतिक्रमण भएको विषयमा नेपाल–भारत विवाद बढ्दै गएमा भारत रिसाएर केही गम्भीर निर्णय लिएमा नेपाली अर्थतन्त्रमा ठूलो खतरा हुने संकेत गरिएको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँग सम्बन्ध बिग्रने अवस्था आए नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नसक्नेतर्फ सचेत गराएका छन् ।

प्रतिनिधि सभाको अर्थसमितिको बैठकमा मंगलवार बोल्दै पाण्डेले भारतमा भारु र नेपाली रुपैयाँको स्थिर विनिमय दरमा परिवर्तन गर्ने विषय उठिरहेको जानकारी दिए । विनिमय दरमा परिवर्तन भएमा नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्ने पाण्डेले बताए ।नेता पाण्डेका अनुसार सन् १९९३ मा नेपाली १ रुपैयाँको कन्भर्सन रेट १.६ रुपैयाँ तय गरिएको थियो । झण्डै ३० वर्ष बढी भइसक्दा समेत परिवर्तन भएको छैन ।

‘कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६ मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारको प्रिभिलेज हो । अब यो गर्नु जरुरी छैन, चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा भारतमा देखिन्छ,’ नेता पाण्डेले भने ।भारतले कुनै पनि विनिमय दरमा परिवर्तन गर्ने कदम चालेमा नेपाललाई अप्ठ्यारो पर्नसक्ने उनले बताए । पूर्वको काकडभिट्टा नाकाबाट नेपालमा आयात गर्न छुट भएको तर नेपालबाट निर्यात गर्न भारतले बन्देज लगाएको बताउँदै नेता पाण्डेले भारतले त्यसतर्फ कदम चाल्नसक्ने अनुमान गर्न सकिने बताएका छन् ।

नेता पाण्डेले अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा नेपाली रुपैयाँ थप कमजोर हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । विश्व संकटका कारण धेरै देशले अमेरिकाको डलर बन्ड किनिरहेको भन्दै नेता पाण्डेले भने, ‘जापानले सबैभन्दा धेरै किनेको छ, दोस्रोमा चाइना छ । अरु धेरै देशहरू पनि छन् । त्यसैले अब डलरको डिमान्ड बढेर जान्छ ।’

नेता पाण्डेले थप स्पष्ट पार्दै भने, ‘त्यो क्यास माग्ने बित्तिकै सबै डलरको पेमेन्ट उसले गर्न सक्दैन । नसक्ने भइसकेपछि डलरको मूल्य माथि जाने र लोकल करेन्सीहरु तल जान्छन् ।’ यसले कमजोर मुद्रा भएका देशमा मूल्यबृद्धि हुने स्पष्ट पारे ।

पूर्व अर्थमन्त्री पाण्डेले सरकारको राजस्व घट्दा भुक्तानीमा समस्या देखिन थालेको समेत बताए । देशभित्र भुक्तानी सन्तुलनमा १ खर्ब ७० अर्ब रुपैयाँको अन्तर देखिएको भन्दै नेता पाण्डेले भुक्तानी असन्तुलन हुनु गम्भीर विषय भएको बताए । ‘हिजो अस्ति मैले हेरेको झण्डै १ खर्ब ७० अर्ब क्यास डेफिसेट छ । रेभ्युन्यु र पेमेन्टको आधारमा । भनेपछि सिधा नगद चाप पर्न थालेको छ,’ उनले भने ।

सरकारले खर्च गर्ने अवस्था कमजोर बन्दै गएको र भदौपछि अवकाश प्राप्त कर्मचारीलाई दिँदै आएको पेन्सनको भुक्तानी चैत महिनामा सार्ने चर्चा समेत चलेकाले यसले अर्थतन्त्रमा थप संकुचन ल्याउन सक्ने पाण्डेले बताएका छन् ।

‘मैले सुनिरहेको छु आन्तरिक रुपमा विभिन्न हिसाबले भदौ उता पेन्सनको पैसा भुक्तानी नगर्ने । चैत वैशाखतिर सार्ने । यदि त्यस्तो भयो भने के हुन्छ ?’ नेता पाण्डेले प्रश्न गरेका छन् ।

Related Articles

Back to top button
Close