समाचार

८३ दिनपछि सकियो लकडाउनः आजदेखि नयाँ नियम, हेर्नुहोस् के के गर्न पाइन्छ

कोरोना भाइरसका कारण गत ११ चैतदेखि लागू गरिएको लकडाउन आज मध्यरातदेखि सकिँदै छ । ८३ दिन लामो लकडाउन भएपछि सरकारले लकडाउन खुकुलो बनाउने विभिन्न चरणका रणनीति तय गर्दै भाखा राखेर गर्दै आएको लकडाउन हटाएको छ ।अब भोलिदेखि सरकारले मिति तोकेर लकडाउन गर्ने छैन । तर, सरकारले तय गरेको मापदण्ड पालना गरेर व्यापार व्यवसाय भने चलाउन पाइनेछ । त्यस्तै, शैक्षिक संस्थासहित १० प्रकारका गतिविधिमा भने लकडाउन कायम रहनेछ ।

सरकारले लकडाउन अन्त्यको घोषणा नगरे पनि सार्वजनिक सवारीसाधन, नियमित हवाई उडान, चारपाङ्ग्रे सवारीसाधनमा ३ जनाभन्दा बढी चढ्न नपाइने नियम भने यथावत् राखेको छ ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार सार्वजनिक सवारीसाधनले पुरानै भाडा दरमा दूरी कायम गरेर सवारी चलाउन मान्ने हो भने त्यस्तालाई पनि अब अवरोध हुने छैन ।

उनले भने, ‘लकडाउन यति दिन लम्बियो भन्ने मात्र नभएको हो, सरकारले तय गरेको रणनीतिअनुसार लकडाउन जारी छ तर खुुकुलो अवश्य भएको छ ।’ उनका अनुसार चारपाङ्ग्रे सवारीमा ३ जनाका साथै भोलिबाट मोटरसाइकलमा पनि जोर बिजोर भने लागू हुनेछ ।ट्राफिक महाशाखा प्रमुख भीम ढकालले पनि भोलिदेखि मोटरसाइकलमा पनि जोर बिजोरको नियम लागू हुने बताए । सरकारले मोटरसाइकलमा एक जना मात्र चढ्न दिने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्री ढकालका अनुसार अब दैनिक जीवनलाई सहजीकरण गरी लकडाउनको मोडालिटी भने खुकुलो हुँदै जानेछ । उनले लकडाउन खुकुलो भए पनि संक्रमण देखिएका ठाउँमा भने सिल गरेर पनि नियन्त्रणमा लिन सकिने बताए ।उनका अनुसार भोलिदेखि बुढाबूढी, केटाकेटीलाई पर्याप्त सुरक्षाबिना हिँडडुलमा लगाइएको प्रतिबन्ध भने कायम नै छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लडाउनको ८३ दिनपछि आजदेखि सबै कार्यालय खुल्ने भएका छन् ।

लकडाउनले सर्वसाधारणको दैनिकी कष्टपूर्ण भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी आजदेखि खुल्न लागेका हुन् ।आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र संघसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालय खुुलाउनु आवश्यक थियो ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको बताए ।कोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।

विद्यार्थीले अब शिक्षण सिकाइमा प्रयोग हुने रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठ, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन अध्यापन निरन्तर गर्नेछन् । निजी क्षेत्रका कतिपय विद्यालयले भने वैशाखबाटै विद्युतीय माध्यमबाट पठनपाठन सुरू गरिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले लामो समयसम्म अवरुद्ध पठनपाठनबाट पुग्न जाने शैक्षिक क्षति न्यून गर्न अपरिहार्य भएको भन्दै विद्यालय जाने उमेर समूहका विद्यालयलाई असार १ गतेदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरू गरिने २८ जेठमा घोषणा गरेका थिए ।

विद्यार्थीको पठनपाठन प्रभावकारी बनाउन मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहज बनाउन निर्देशिका जारी गरिसकेको छ । निर्देशिकाले विद्यार्थीलाई वर्गीकरण गर्नुका साथै स्थानीय सरकार, विद्यालय तथा शिक्षकले वैकल्पिक शिक्षाको पठनपाठनमा सहयोग गर्नुपर्ने कामका बारेमा स्पष्ट गरिएको छ ।

Related Articles

Back to top button
Close