समाचार

‘गफ हानेको’ होइन, ढुक्क रहौं–मुलुक बन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको बताएका छन्।सोमबार वैकल्पिक सिकाइ प्रविधिको घोषणाका सन्दर्भमा नेपाल टेलिभिजनबाट शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको बताए।

उनको भनाइ कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै पछिल्लो समय भइरहेका विरोध प्रदर्शनतर्फ लक्षित छ। जुन प्रदर्शनहरूमा विशेषगरि युवा पुस्ताको सहभागिता छ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हाम्रो देश झन् पछि पर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको आफूले थाहा पाएको उल्लेख गर्दै देशले राम्रो गर्छ र अगाडि बढ्छ भन्नेमा ढुक्क रहन आग्रह गरे।

‘मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु। मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि?,’ प्रधानमन्त्री ओलीले भने,‘आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन। तर एकमुष्ट भन्न चाहन्छु–जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन् भन्ने तपाईका अभिभावकहरुको भनाइ झुठ्ठा सावित हुँदैन। हाम्रो मुलुकमा अब फेरि अर्को आन्दोलन आवश्यक छैन।’

सरकार देश बनाउने‍ कुरामा सरकारले गफमात्र हानेको भन्ने कुरा आरोपमात्र भएको बताए।’अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ। आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन। ढुक्क रहौं– मुलुक बन्छ। सुशासन, स्वच्छता कायम हुन्छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्रमा नै असर नपरोस् भनेर आजदेखि वैकल्पिक सिकाइ प्रविधिको घोषणा गरिएको बताए।‘स्थिति सामान्य भएपछि हाम्रो शिक्षण प्रणाली पनि सामान्य हुन्छ,’ प्रधानमन्त्रीले भने।तर कोभिड-१९ ले एसइई परीक्षाबारे भने सधैँका लागि विकल्प सोच्नु पर्ने अवस्था ल्याएको प्रधानमन्त्रीको भनाइ छ।

लकडाउन खुलेको होइन, खुकुलो बनाइएकोमात्र होप्रधानमन्त्री ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने बताए।‘अहिले स्वछन्दतापूर्वक होइन, संयम र जिम्मेवारपूर्वक व्यवहार गर्ने बेला हो,’ प्रधानमन्त्री ओलीले भने।

Related Articles

Back to top button
Close