समाचार

दुई महिनाको छोरालाई कलेजो दिएर बचाउने महेश

१६ फागुन, काठमाडौं । विवाह गरेको चार वर्षसम्म महेशप्रसाद र गीता अवस्थीले सन्तान जन्माएनन् । यसबीचमा समाज र आफन्तहरु उनीहरुलाई प्रश्न गर्थे– बच्चा कहिले ?

सन्तानको रहर त उनीहरुलाई पनि थियो । तर गीता काठमाडौं बसेर अंग्रेजीमा स्नातकोत्तर गर्दै थिइन् । महेश बैतडीमा रेडियो सञ्चालनमा व्यस्त । त्यसैले उनीहरुको योजना थियो, गीताको एमएको पढाइ सकिएपछि मात्र सन्तान जन्माउने ।

०७५ मा गीताको पढाइ पनि सकियो । उनको पेटमा भ्रुण हुर्कन थाल्यो । सन्तान र श्रीमतीको स्याहारका लागि महेशले तीन–चार लाख रुपैयाँ बैंकमा जम्मा पारिसकेका थिए । गीताको पेटमा शिशुले लात्ति हान्न थालेपछि अवस्थी दम्पत्तिको खुशी दुई गुणा भयो । नियमित स्वास्थ्य जाँच गराइरहे, शिशुको अवस्थाबारे अस्पतालले कुनै खराब रिपोर्ट दिएको थिएन ।

तर गीताले सन्तानलाई संसार देखाउन आफ्नो पेट चिर्नुपर्ने भयो । २४ असोज, २०७६ मा शल्यक्रियामार्फत गीताले छोरा जन्माइन् । ‘पाँच वर्षको प्रतिक्षापछि छोरालाई समाउँदा यति खुशी भएको थिएँ कि त्यसलाई शब्दमा वर्णन गर्न सक्दिनँ’, महेश सम्झिएरै दंग पर्छन् । शिशु जन्मिएपछि हस्पिटलले भन्यो, ‘बच्चामा सोडियमको मात्रा थोरै कमी छ । एक दिन मेन्टेन गरे पुग्छ ।’

चार दिनपछि ह्याम्स अस्पतालको बेडबाट निस्किएर शिशुसहित अवस्थी दम्पत्ति सुकेधारास्थित कोठामा पुगे । बैतडीबाट महेशका आमा बा र आफन्त खुशी साट्न काठमाडौं आइपुगेका थिए । हर्षोल्लासमै न्वारान गरियो । छोराको नाम महेशले नै जुराए – शिवान्स अवस्थी ।

शिवान्सले धर्ती टेकेको १३ दिन मात्र भएको थियो । रातको ११ बजेपछि अस्वाभाविक रुपमा रुन थाले । कात्तिक महिना । छोरालाई चिसो पो लाग्यो कि ? उनीहरु छोरोलाई सेके, गीताले दुध चुसाइन्, न्यानो पारेर सुताउन खोजिन् । अहँ ! शिवान्सको रुवाइ रोकिएन । शिशुका लागि रुनु नै अभिव्यक्तिको एक मात्र माध्यम हो । भोक लाग्दा पनि रोयो, रोग लाग्दा पनि, दुख्दा पनि रोयो । किन रोयो ? पहिल्याउन भने अविभावकलाई महाभारत ।

अर्को दिन हेर्दा शिवान्सको पेट भुक्क फुलेको थियो । एकाविहानै महेश र गीताले छोरालाई कान्ति बाल अस्पताल पुर्‍याए । डाक्टरले आकस्मिक कक्षमा राखेर शिवान्सलाई औषधी र सुइ दिए । दुई घण्टापछि अस्पतालले भन्यो, ‘बच्चाको अवस्था अलि जटिल भएकाले एनआईसीयूमा राख्नुपर्छ । तर हामीकहाँ बेड खाली छैन ।’

छोराको रुवाइ रोकिएकै थिएन । बाबुआमालाई सकस भयो । महेशले अनुनय गरे, ‘सरकारी अस्पताल भनेर विश्वास गरेर आएको, कृपया मिलाइ दिनु न ? यति सानो बच्चा बोकेर कहाँ–कहाँ धाउने ?’

अस्पतालले भन्यो, अहँ ! मिल्दै मिल्दैन ।

शिवान्सलाई नजिकैको त्रिवि शिक्षण अस्पताल पुर्‍याइयो । धन्न अस्पतालले भर्ना लियो । एनआईसीयूमा राखेर उपचार थालियो । बाबुआमाले बल्ल लामो सास फेरे ।

तर फेरि बेचैनी शुरु भयो । शल्यक्रिया गरी सन्तान जन्माएकी गीताले छोरालाई छातीमा सुताउने धोका पूरा नहुँदै अस्पतालको भुइँमा सुत्नु परेको थियो । डाक्टर त भन्दैथिए, ‘हामी हेर्दै छौँ, आत्तिनु पर्दैन ।’

तर कसरी नआत्तिनु ?

अस्पतालको चिसो भुइँ । कक्षभरि मान्छे । रात परेपछि महेश र गीता ग्यालरीमा कार्पेट ओच्छ्याएर पल्टिन्थे । गीताको खुट्टा चिसोले सुन्निएर बडेमान भएको थियो । छोरालाई चुसाउन नपाउँदा दुध गान्निएर अर्को पीडा थपिएको थियो ।

महेशको सकस बढ्दै गयो । छोराको चिन्तासँगै सुत्केरी पत्नीलाई पनि सम्हाल्नु थियो । ‘गीताको अवस्था यस्तो भएको थियो कि केही पनि सम्झिन छाडिसकेकी थिइन् । मात्र रोइरहन्थिन्’, महेश आँशु लुकाउँदै बोल्छन्, ‘म आफैं पनि सम्हालिन नसक्ने अवस्थामा पुगेको थिएँ ।’

महेश दिनमै कैयौँ पटक डाक्टरलाई सोध्न पुग्थे, ‘डाक्टर सा’ब के भएको हो मेरो बावुलाई ?’ डाक्टरले रेडिमेड उत्तर मात्र दिन्थे, ‘नर्मल छ । इन्भेस्टिगेसन गर्दैछौं । केही हुन्छ कि भनेर कोशिस गरिरहेका छौं । त्यस्तो केही भयो भने भन्छौं ।’

अस्पतालले शिवान्सलाई कहिले एनआईसीयू त कहिले आईसीयूमा राख्थ्यो । आमालाई दुध निचोरेर ल्याउन भनिएको थियो । विहान भयो कि गीता सीसीमा दुध बोकेर कक्षबाहिर कुर्थिन् । उनको दुध फ्रिजमा राखेर नर्सले दैनिक पाँच एमएल पिलाइदिन्थे ।

तर शिशुको हालत झन् खराब भइसकेको थियो । अब पेट मात्र होइन, पुरै शरीर फुलेको थियो ।

यसरी २० दिन कटाएपछि महेशको डाक्टरप्रति भरोसा डग्मगायो । उनले डाक्टरलाई भने, ‘तपाईहरु सक्नुहुन्न भने भन्नुस् । हामी अर्कै अस्पताल लैजान्छौं ।’

डाक्टरले जवाफ दिए, ‘कोशिस गरिरहेका छौं । के भएको हो ठ्याक्कै पत्ता लगाउन सकिरहेका छैनौं ।’

झण्डै एक महिना यसरी बिताएपछि अस्पतालले बच्चालाई डिस्चार्ज गर्ने सुरसार गर्दै थियो । तर बिरामी बच्चालाई घरमा लगेर के गर्ने ? महेशलाई भाउन्न भयो । डाक्टरसँग भने, रिफर गरिदिनुस् । तपाईको अनुसन्धानले केही त देखायो होला नि ?

डाक्टरले भने, ‘कलेजोमा समस्या छ जस्तो देखिन्छ । तर यो नै अन्तिम सत्य नहुन पनि सक्छ ।’

अस्पताल भर्ना हुनुअघि र शिक्षण अस्पतालबाट रिफर गर्दाका शिवान्स
महेशले शिवान्सलाई टlचिङबाट निकाले । छोराको अवस्था निकै दयनीय भइसकेको थियो । ‘टिचिङ अस्पतालमा हामी जति दिन बस्यौँ, राम्रोसँग खाना पनि खाएनौँ, सुत्दा पनि सुतेनौँ,’ महेशले भावुक बन्दै भने, ‘ग्यालरीमा बसेर कति रोयौं । जीवनमा जस्तो परिस्थिति पनि सामना गर्नुपर्ने रहेछ ।’

००००

महेश कलेजोको राम्रो उपचार हुने अस्पतालहरु खोज्न थाले । भेट्टाए चेन्नइ,, भारतको ‘डाक्टर रेला इन्स्टिच्युट एण्ड मेडिकल सेण्टर ।’ कलेजो रोगको उपचारका लागि राम्रो अस्पताल भएको थाहा पाएपछि केही डाक्टरहरुसँग खर्चवारे छलफल गरे । चालिस लाखभन्दा बढी लाग्नसक्ने कुरा आयो । तर उनको खाता रित्तिइसकेको थियो । आफन्तबाट पैसा जुटाउन लागे ।

चन्नई पुगेको पाँचौ दिनमा डाक्टरले खबर दिए- बच्चाको कलेजो प्रत्यारोपणको विकल्प छैन । भन्दै थिए, ‘बच्चा सानो भएकाले अरुले कलेजो दिएर हुँदैन । बाबा या आमाबाटै लिनुपर्छ ।
बच्चाको लागि ‘फिट टु फ्लाइट’ सर्टिफिकेट बनाए ।

७ मंसिरमा महेश र गीता सानो छोरा च्यापेर चेन्नइ उडे । महेश भन्छन्, ‘बाबुको शरीरभरि पानी भरिएर समात्नै नमिल्ने अवस्था थियो । आमाले दुध चुसाउनसमेत मिल्दैनथ्यो । १२ घण्टामा एक पटक मात्र पिसाब पास हुन्थ्यो ।’

पाँच घण्टाको यात्रापछि उनीहरु चेन्नई विमानस्थलमा उत्रिए । रातको १ बजेको थियो । विमानस्थलबाट बाहिरिनेवित्तिकै उनीहरुको शरीर पसिनाले लुछुप्पै भयो । उनीहरु दुवैले भारत टेकेको पहिलो पटक थियो । मानिसहरु तामिलबाहेक अन्य भाषा राम्ररी बुझैदैन । महेश- गीताले ट्याक्सी रोके र गुगल म्यापको सहारामा अस्पताल पुगे । अस्पताल पुग्दा घडीले रातको दुई बजाइसकेको थियो ।

महेशप्रसाद अवस्थी
अस्पतालले शिवान्सलाई आईसीयूमै राखेर परिक्षण शुरु गर्‍यो । यता महेश–गीता चार दिनसम्म कुर्सीमै बसेर स्वास्थ्यलाभको प्रार्थना गरिरहे । कुर्सीमै खान्थे र कुर्सीमै सुत्थे ।

तीन दिनपछि बल्ल डाक्टरले सन्देश ल्याए– बच्चाको कलेजोमै खरावी छ । तपाईहरुले अस्पताल ल्याउन निकै ढिला गर्नुभयो । अब औषधीले निको हुने सम्भावना पाँचदेखि १० प्रतिशत मात्र हुन्छ । तै पनि एक हप्ता औषधी चलाएर हेरौं, नभए ट्रान्सप्लान्ट गुर्नुपर्छ ।’

महेश र गीत अत्ताल्लिए । महेशले त सोचिसकेका थिए कि अब छोरालाई बचाउन कठिन छ । कलेजो प्रत्यारोपण गर्न एक करोड जति खर्च लाग्ने उनले सुनेका थिए । त्यति ठूलो रकम कहाँबाट जोहो गर्ने ? र, पनि महेशको मनमा झिनो आशा बाँकी थियो । उनले प्रार्थना गरिरहेका थिए – हे भगवान ! औषधीले नै निको होस् ।

तर पाँचौ दिनमा डाक्टरले अर्को नयाँ खबर लिएर आए– बच्चाको कलेजो प्रत्यारोपणको विकल्प छैन ।

डाक्टर भन्दै थिए, ‘बच्चा सानो भएकाले अरुले कलेजो दिएर हुँदैन । बाबा या आमाबाटै लिनुपर्छ । त्यसका लागि मेडिकल्ली फिट हुनुपर्छ ।

डाक्टरले खर्चको विवरण पनि सुनाए–अपरेशन प्याकेजको मात्र साढे २२ लाख भारु लाग्छ । त्यसभन्दा अघि र पछिका सबै खर्च तपाई आफैंले व्यहोर्नुपर्छ । शल्यक्रियापछि तीन महिनासम्म बच्चालाई हस्पिटलमै राख्नुपर्छ । औषधीको पैसा छुट्टै लाग्छ ।

छोराको कलेजोबारे डाक्टरको एकोहोरो वक्तव्यले महेश–गीताको कलेजो छेउको मुटु छियाछिया भयो । रोइरहेकी गीताले एकछिनपछि अलि सम्हालिएर भनिन्, ‘तपाईले वाहिर फेस गर्नुपर्छ । परिवार हेर्नुपर्छ । केही भैहाल्यो भने समस्या हुन्छ । म नै दिन्छु छोरालाई कलेजो ।’

तर दुई महिनाभित्रै दुई वटा अप्रेशन थेग्न सक्ने अवस्थामा थिएन गीताको शरीर । एकातिर पिरले त अर्कोतर्फ शारीरिक कमजोरीले आफैं थिलथिलो भएकी थिइन् ।

अर्कोतर्फ पैसा कसरी जुटाउने ? कुरा ६०–७० लाखको थियो । कतिले भने, ‘छोराको माया मारिदे ।’

तर पैसा जम्मा हुने भए छोरालाई बचाउन आफ्नो जुनसुकै अंग पनि दिन तयार थिए महेश । उनी भन्छन्, ‘किरा फट्या‌ंग्रा मर्दा त मान्छेले सहानुभूति राख्छ । आफ्नै सन्तानले उपचार नपाएर मर्नु परेको कसरी हेर्न सक्थ्यौं ।’

महेशले ऋण खोज्न थाले । फेरि कागजपत्रको झमेला आयो । वडाबाट सिफारिस ल्याउनुपर्ने । त्यसको आधारमा प्रशासनले सिफारिस गर्ने । त्यसपछि वीर अस्पतालमा रहेको नेपाल मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने । त्यसको आधारमा स्वास्थ्य मन्त्रालयले पराष्ट्र मन्त्रालयलाई सिफारिस गर्नुपर्ने । अनि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई । इमेल, फ्याक्स केहीले नमिल्ने । सबै ठाउँमा सक्कली कागजपत्र उपलब्ध गराउनुपर्ने । यसको लागि जति नै छिटो गरे पनि १२/१५ दिन त लाग्ने नै भयो ।

उता डक्टरले भनेको छ कि एक हप्ताभित्रै अपरेशन गर्नुपर्छ । कागज पत्रले गर्दा नै उपचार हुन नसक्ने खतरा देखियो । महेशले हिम्मत हारेनन् । सबै ठाउँमा आफन्त र चिनेका मान्छेहरु खटाए । तर डकुमेन्ट नेपाल मेडिकल बोर्डमा आएर रोकियो । बोर्डमा हप्ताको एक दिन सोमबार मात्र मिटिङ बस्दो रहेछ । त्यही वैठकको निर्णयपछि मात्र सिफारिस हुने । ‘कागजपत्रको लागि हरेक ठाउँमा विन्ति चढाउनुपर्थ्यो ’, महेश आक्रोश पोख्छन्, ‘के मानिस हप्ताको एक दिन मात्र विरामी हुन्छन् ? हामीले राज्य भएको अनुभूति गर्न नपाउने ?’

अत्तालिएका महेशले अस्पतालमै पनि बिन्ती बिसाएका थिए, ‘मेरो नागरिकता, लाइसेन्स, पासपोर्ट सबै डकुमेन्ट राख्नुस् । कहाँ–कहाँ औठा छाप गर्नुपर्छ, म गर्छु । तपाईहरुलाई कुनै केश लाग्ने छैन । मेरो छोराको अप्रेशन गरिदिनुस् ।’

तर अस्पताल तयार भएन । दिल्लीसम्मै मान्छे लगाएर भए पनि महेशले आठ दिनमा कागजपत्र तयार पारिछाडे । हस्पिटलमा कागजपत्र त पुग्यो । तर फेरि तामिल सरकारको वकिल, पुलिस, सम्बन्धित अस्पताल र विरामीको आफन्तबीच पनि सम्झौता हुनुपर्दोरहेछ । यो अवधिमा महेश पलपल तड्पिरहेका थिए ।

सम्झौताको तेस्रो दिन अस्पतालले शल्यक्रियाको मिति तय गर्‍यो ।

००००

महेश कलेजो चोइट्याउन अपरेशन थिएटरमा छिरे । अब सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी गीताको काँधमा आइपर्‍यो । शिशु जन्मेको १४ दिनपछि गीतले एक छिन फुर्सद पाएकी थिइनन् । आराम र पोषणयुक्त खाना त धेरै परको कुरा भयो ।

अपरेशन भयो । महेशले सन्तानलाई कलेजो दिएर बचाइछाडे । सात दिनसम्म महेश पनि आईसीयूबाट निस्कन सकेनन् । एकातिर कलेजोको घाउले असह्य पीडा दिन्थ्यो । तर उनलाई आफ्नो पीडाभन्दा छोराको चिन्ता थियो ।

सात दिनपछि महेश अलिकति पाइला सार्न सक्ने भए । त्यही दिन डाक्टरले छोरालाई भेट्ने अनुमति दियो । शिवान्स भेन्टिलेटरमा थिए । महेश ह्वीलचियरको सहाराले भेन्टिलेटरसम्म पुगे । संक्रमणको डरले टाढैबाट मात्र हेर्न दिइएको थियो ।

महेश छोरालाई स्पर्श गर्न चाहन्थे । सोध्न चाहन्थे, ‘बाबु, मेरो कलेजोले काम गरिरहेको छ नि !’

तर, शिवान्सको शिरदेखि पाउसम्म तार र पाइप जडान गरिएको थियो । आँखामा पट्टी बाँधिएको थियो । स्लाइन दिएको थियो । घाँटीदेखि पेटसम्म प्वाल पारिएको थियो ।

दुई महिनाको शिशुलाई कस्तो सास्ती ? यो देखेर महेशलाई भने मुटु मै प्वाल परेजस्तो भयो ।

१४ दिनपछि शिवान्सलाई भेन्टिलेटरबाट निकालियो । अझै पनि महेश–गीतालाई लाग्थ्यो, ‘खै निको होला र ?’ डाक्टरको सान्त्वनाले आत्मबलको पारो अलिकति बढाउँथ्यो । उनीहरुले भन्थे, ‘बच्चाको स्वास्थ्यमा निकै सुधार आइरहेको छ ।’

सम्बन्धित डाक्टरले हरेक दिन परामर्श दिन्थे । बच्चाको अवस्थाबारे स्पष्ट पारिदिन्थे । यसैले महेश–गीतालाई सम्हालिन सहयोग पुग्थ्यो ।

सेन्सेटिभ आईसीयूबाट शिवान्सलाई आईसीयुमा पुर्‍याइयो । विस्तारै खुट्टामा लगाइएका लाइनहरु निकालिए । तर शिवान्सको मुखमा अक्सिजन झुण्डिरहेकै थियो । ९/१० दिनमा अर्को वार्डमा लगियो । त्यतिबेला घाँटीबाट छिराइएको मेन लाइन बाँकी नै थियो । नाकबाट पाइप लगाएर त्यसैबाट ‘फिडिङ’ गराइएको थियो ।

एक हप्तापछि शिवान्सलाई जनरल वार्डमा सारियो । २० दिन जति भयो जनरल वार्डमा सारिएको । अहिले घाँटीबाट छिराएको मेनलाइन मात्र बाँकी छ । बोटलबाट दुध चुसाउन थालिएको छ । पेटमा चिरेर सिलाएको लामो दाग देखिन्छ ।

तर अझैसम्म पनि आफ्नो बच्चालाई काखमा लिन पाएका छैनन् महेशले । किनकी डाक्टरले अहिले नै उनको शरिरलाई तौल उठाउन बन्देज लगाएका छन् । शिवान्सले अलिअलि हातखुट्टा चलाउन थालेका छन् । हाँस्न थालेका छन् । यति देख्दा पनि महेश र गीता खुशी हुन्छन्, सारा दुःख बिर्सन्छन् । डाक्टरले भनेका छन्, ‘एक दुई वर्षको हेरचाहपछि शिवान्स अरु बच्चाजस्तै सामान्य बन्नेछन् ।’

००००

४५ दिनको ‘बेडरेस्ट’ पछि ३० वर्षीय महेश पनि तंग्रिएका छन् । पैसा जोहो गर्न केही दिनको लागि काठमाडौंमा छन् उनी । शिशु र पत्नीलाई चेन्नइमा छाडेर आएका महेशका अनुसार अहिलेसम्म करिब एक करोड ऋणले थिचिसकेको छ ।

एक करोडको मासिक एक लाख रुपैयाँ व्याज तिर्न सक्ने अवस्था छैन उनीसँग । महेश सबैसँग सहयोगका लागि हात फैलाउँदै अनुनय गर्छन्, ‘जिन्दगीभर ऋणमा डुब्नुपर्ने बाध्यताबाट उम्काइदिनुस् । यति गरेर बचाएको छोरालाई पनि केही बनाउनुछ । उज्यालो भविश्य दिनुछ ।’

आफैंले कल्पना गर्न नसक्ने जंघार तरेर यहाँसम्म आइपुगेका छन् महेश । मनभित्र कालो बादल मडारिएको छ । अन्तिममा बोल्छन्, ‘जतिसुकै अप्ठ्यारो स्थितिमा पनि मनभित्र आशाको दियो निभ्दो रहेनछ । जिन्दगी मजाक होइन रहेछ ।’

Related Articles

Back to top button
Close