समाचारस्वास्थ्य/ जिबनशैली

वुहानबाट नेपाल आउन नपाएका ६ जना नेपाली कहाँ छन्?

वुहानबाट नेपाल आउन नपाएका ६ जना नेपाली कहाँ छन्?

बाँकी ६ जना वुहानमै छुटे। छुट्नेमा २२ महिने शिशुसहित आमाबुवा र बाँकी तीन जना पुरुष थिए। नेपाल उड्नुअघि मेडिकल जाँचमा शिशुका बुवाको शरीरको तापक्रम ३७.२ डिग्री सेन्टिग्रेडभन्दा माथि देखियो।

त्यसपछि उनलाई विमानस्थलले नेपाल जान दिएनन्। शरीरको तापक्रम ३७.२ भन्दा माथि देखिए चीन सरकारले त्यस्ता व्यक्तिलाई स्वदेश जान नदिने भनेको थियो।

श्रीमान नेपाल आउन नपाएपछि श्रीमती पनि नआउने भइन्। ‘उहाँहरु परिवारसहित त्यही दिन वुहानबाट आफ्नो विश्वविद्यालको होस्टेल फर्कनुभयो। होस्टेलसम्म छोड्न हामीले बसको व्यवस्था गरेका थियौं,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले सेतोपाटीसँग भने।

बाँकी तीनजना पनि शरीरको तापक्रमकै कारण नेपाल आउन नपाएको लम्सालले बताए। तीनमध्ये दुईजना चिङ्चाओ र एकजना आङ्सोमा बस्छन्।

तीन जनाको परिवार वुहानमै बस्ने भएकाले त्यही दिन उनीहरुलाई पुर्याइएको जानकारी दिँदै लम्सालले भने, ‘बाँकी तीनजनालाई शुक्रबार बिहान वुहानबाट लग्यौं। उहाँहरु पनि हिजै आआफ्नो होस्टल पुगिसक्नु भो।’

उनले शरीरको तापक्रमका कारण नेपाल आउन छुटेका चार जनाकै तत्काल खकारको परीक्षण गर्दा नेगेटिभ आएको जानकारी दिए। उनीहरुको रगतको पनि परीक्षण गरिएको भन्दै त्यसको नतिजा भने मंगलबार आउने लम्सालले बताए।

दूतावासले सुरुमा नेपाल जान आव्हान गरेको निवेदनमा १ सय ८५ जना नेपालीले फाराम भरेका थिए। तर बाँकी चारजनाले स्वेच्छिक भन्दै नेपाल नजाने भनेर निवेदन फिर्ता लिएको उनले बताए।

नेपाल आउन छुटेका ६ जना र स्वेच्छाले नेपाल आउन नमानेका ४ जनालाई नै दूतावासले निरन्तर सम्पर्क गरिहेको लम्सालले बताए। ‘उहाँहरु आफ्नै विश्वविद्यालयको होस्टेलमा सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ। उहाँहरुलाई सबै ठिक छ। आत्तिनुपर्ने केही कुरा छैन,’ उनले भने।

वुहानबाट नेपाल ल्याइएका १ सय ७५ जना नेपालीलाई भने भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ।

Related Articles

Back to top button
Close