समाचार

देशभर लकडाउन खुकुलो

२६ वैशाख, काठमाडौं । सरकारले औपचारिक रुपमा लकडाउन अन्त्य भएको घोषणा गरेको छैन । जेठ ३२ गतेसम्मका लागि घोषणा गरिएको लकडाउनको मोडालिटी बनाउन भन्दै मन्त्रालयमा मध्यरातसम्म बैठकहरु हुने गरेका छन् । सरकार लकडानलाई कसरी खुकुलो पार्ने भन्नेबारे सोचिरहेको छ ।

तर, सरकारी अधिकारीहरु सोचमग्न भइरहेका बेला जनताले आफैं निर्णय लिइसके । शहरमा निजी सवारी साधन गुड्न थालिसके । पसल, रेष्टुरेन्ट र व्यवसायहरु खुल्न थालिसके । सरकार भने लकडाउनबारे सोचेको सोच्यै छ ।आइतबारजस्तै सोमबार पनि देशका मुख्य शहरमा लकडाउनको अनुभूत खासै देखिएन । लकडाउनबारे सरकारी निर्देशन उल्लघंन गर्ने क्रम जारी रहेको छ । कतिपय ठाउँमा प्रहरीले सवारी साधन रोक्न खोजे पनि सरकारी प्रयास ‘बिचरा’ सावित भएको छ ।लकडाउन अघोषितरुपमा खुलिसकेको वा खुकुलो भएको केही सूचक हामीले यहाँ पाँच तथ्यांकमा देखाउने प्रयास गरेका छौँ–

१. सडकमा सवारी साधन र मानिसको चाप-उपत्यकामा सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सवारी साधन कति सडकमा निस्किए भन्ने तथ्यांक नभए पनि लकडाउन उल्लंघन गरेका कारण होल्डमा राखिएका सवारी साधनको संख्या बढ्न थालेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

जेठ १८ गते होल्ड गरिएका सवारी साधनको संख्या एक हजार ६५ रहेकोमा २१ गते उक्त संख्या २४ सय ६६ पुगेको श्रेष्ठले बताए । यस्तै २२ गते उपत्यकामा होल्ड गराइएका सवारी साधनको संख्या १९ सय ८३ थियो ।

सरकारले कृषिजन्य उत्पादन, बैंक तथा वित्तीय संस्था, निर्माण र उद्योगका कच्चा पदार्थलगायतका अत्यवश्यक सेवा खोल्न दिन गरेको निर्णयका कारणले पनि सवारी चाप बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अत्यावश्यक सेवाको व्यवस्थापनमा खट्ने मानिसहरुको आवत–जावत तथा केही मानिस बाहिरी जिल्लाबाट पास लिएर आउने क्रम बढेकाले पनि सडकमा चाप बढेको उनले बताए ।एकाध मानिसहरु लकडाउन खुलेको वा नखुलेको हेर्न पनि सवारी लिएर सडकमा निस्किएको पाइएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

सडकमा सवारी साधन मात्रै हैन, पैदल हिँड्ने मानिसहरुको संख्या पनि उल्लेख्यरुपमा बढेको छ ।बिराटनगरमा तीनदिन यता बजार र निजी सवारीसाधनको चाप बढेको छ । बिहान १२ बजेसम्म सहरमा भिडभाड देखिन थालिसकेको छ । जनकपुरमा पनि पेशा व्यवसाय र निजी सवारी साधनहरु बाक्लै चल्न थालेका छन् । चितवन, बुटवल, नेपालगञ्ज हुँदै धनगढीसम्म लकडाउनको अवज्ञा स्वस्फूर्तरुपमा हुन थालेको छ ।

बढ्यो इन्धन खपत-लकडाउनका कारण २० प्रतिशतमा सीमित इन्धनको माग विस्तारै बढ्न थालेको छ । जेठ २२ गते देशभर ८ सय ३५ किलोलिटर पेट्रोल, पाँच हजार ६ किलालिटर डिजेलको बिक्री भएको थियो । तर, २५ गते इन्धनको बिक्रीमा उल्लेख्य बृद्धि भएको छ । लकडाउन कडाइ भएको २२ गतेको तुलनामा २५ गते पेट्रोलको बिक्री १६५ किलोलिटरले बढेको छ । यस्तै २५ गते डिजेलको बिक्री पनि एक हजार किलोलिटरले देशभर बढेको छ ।

पाँच दिनअघि दैनिक ३५० किलोलिटर बिक्री रहेको डिजेल आइतबार एक सय किलोलिटरले बढेर ४५० किलोलिटर प्रतिदिन पुगेको छ । यस्तै पेट्रोलको बिक्री पनि पहिलेको तुलनामा एकसय किलोलिटरले बढेको नेपाल आयल निगमले जनाएको छ । इन्धनको खपत हरेक दिन बढ्दो क्रममा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

भन्सारको ब्यापार बढ्यो-भारतमा आंशिकरुपमा खुलेको लकडाउनका कारण त्यासको प्रभाव नेपालमा पनि देखिएको छ । लकडाउनको सुरुआती दिनमा नेपालको बाह्य व्यपार दैनिक ५० देखि ६० करोडको हाराहारीमा थियो । तर, लकडाउनको ११ औं हप्तामा आइपुग्दा दैनिक कारोबार ३ अर्ब हाराहारी पुगेको भन्सार विभागले जनाएको छ ।

सुरुआती दिनमा भन्दा बाह्य ब्यापारको गति बढेको विभागका महानिर्देशक सुमन दाहालले बताए । सामान्य अवस्थामा दैनिक ५ अर्बको बाह्या ब्यापार गर्ने देशभरको भन्सार कार्यालयहरुले लकडाउनको ११ औँ हप्तामा आईपुग्दा ६० प्रतिशतमा पुगेको उनले बताए ।

साना व्यवसाय सञ्चालन दर ७५ प्रतिशत-लकडाउन जारी रहेकै समयमा पनि देशभर अधिकांश साना व्यवसायहरु सञ्चालनमा आएका छन् । देशभर रहेका २७ हजार साना पसलहरु मध्ये मोटामोटी ७५ प्रतिशत पसलहरु सञ्चालनमा आएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

गाउँ गएका मानिसहरु फर्कन नपाएर केही व्यवसाय चल्न नपाए पनि शुक्रबारयता ठूलो मात्रामा व्यवसाय सञ्चालनमा आएको महासंघका अध्यक्ष नरेश कटवाल बताउँछन् ।

७८ दिनपछि तोकियो सुनचाँदीको भाउ-सुनचाँदी व्यवसायी महासंघले ७७ दिनपछि सोमबार सुनचाँदीको बजार भाउ तोकेको छ । देशका कतिपय सहरहरुमा स्थानीय तहले निश्चित समय तथा कयौँ ठाउँमा सुरक्षा विधि अपनाएर पसल निर्बाध खोल्न पाइने व्यवस्था गरेपछि भाउ तोकिएको महासंघले जनाएको छ ।

कोरोना कारण सरकारले लकडाउन घोषणा गर्नु तीन दिन अघिदेखि महासंघले देशभरका १० हजारभन्दा धेरै सुन पसलको कारोबार स्थगनको घोषणा गरेका थिए । उद्योग वाणिज्य महासंघबाट सदस्यता लिएर कयौँ सुन पसलहरुले कारोबार थालेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । खुलेका सुन पसललाई कारोबार गर्न असहजता नहोस् भनेरै महासंघले भाउ तोकिदिएको उनले बताए ।

 

Related Articles

Back to top button
Close