समाचार

कोरोना संक्रमितको शव व्यवस्थापनमा लफडा : जनप्रतिनिधि बाटो छेके, प्रहरीले लाठी हान्यो

२६ जेठ, पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ ।शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको छ ।

जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो भने राति उपचारका क्रममा मृत्यु भएको थियो ।शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो १६ घण्टासम्म उनको शव अस्पतालको आइसोलेसनमा अरु सं‌क्रमितसँगै रह्यो ।

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार यसका लागि स्थानीय तह, प्रशासन र नेपाली सेनाले आपसी समन्वयमा गर्नुपर्छ । त्यसअनुसार घाट खोज्ने जिम्मा पोखरा महानगरपालिकाले पायो भने व्यवस्थापन गर्ने जिम्मा पोखरा फूलबारीस्थित भगवती दल गणलाई दिइएको थियो ।

महानगरले वडा नं ११ मणिपाल शिक्षण अस्पतालभन्दा केही तलको सेती नदीस्थित रिठ्ठे घाटमा संक्रमितको शव गाड्ने निधो गर्‍यो । नेपाली सेनाले शव गाड्न खाल्डो खनेर ठिक्क पारिसकेका थिए । तर वडा नम्बर ११ र २० का वासिन्दाले विरोध गरे । सेती किनारमा शव गाड्दा आफूहरुलाई जोखिम हुने उनीहरुको तर्क थियो ।

पोखरा महानगरको वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ, प्रदेश सांसद विन्दुकुमार थापा समेत शव लैजान नदिने अडानमा थिए ।पश्चिमाञ्चल अस्पतालको ठिक अगाडि रामघाट हुँदै शव गाड्न ल्याइएको भन्दै स्थानीयले विरोध गरे । नेपाली सेनाको टोलीले शव लैजान खोज्दा स्थानीय वासिन्दाले पटकपटक अवरोध गरेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको थियो ।

विरोध गर्नेहरुले शव बोकेको गाडीको बाटो नै छेक्न आएपछि प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठीचार्जबाट वडाध्यक्ष बास्तोलासहित केही सामान्य घाइते भएका छन् ।श्रीमानको शव हेर्न उनकी श्रीमती छोरीसहित दिउँसै अस्पताल पुगेका थिए । तर शव व्यवस्थापनमा अवरोध हुँदा आफन्त गुमाएका उनीहरुमाथि भने थप पीडा भएको छ ।

Related Articles

Back to top button
Close