बिज्ञान प्रबिधिसमाचार

जुम्ल्याहा लव-कुशले बनाए कोरोना बिरामीलाई सेवा दिने रोबोट

एक महिनाअघिको एक रात जुम्ल्याहा भाइसँगै सुतिरहेका लब झल्याँस्स ब्युझिए।कोल्टे फेरेर निदाइरहेका कुशलाई कोट्याए। गहिरो निद्रामा रहेका कुश चल्मलाए उठेनन्। भाइलाई थप जगाउन लवको मनले मानेन। मनमा अनेक तर्कना खेलाउँदै पल्टिइरहे।उनलाई जगाएको सपनाले फेरि निदाउन दिएन।

विश्वभर फैलिएको कोरोनाभाइरका बिरामी नेपालमा पनि थपिइरहेका छन्। संक्रमितहरूको संख्या थपिइरहँदा संक्रमितलाई राख्ने आइसोलेसन अस्पताल, उपचार गर्ने चिकित्सक, स्याहारसुसार र औषधी खुवाउने स्वास्थ्यकर्मीहरूको अभावका समाचार उनीहरू पनि दिनदिनै पढ्छन्।

संक्रमितको नजिक जान र उसले प्रयोग गरेको वस्तु छुन पनि स्वास्थ्यकर्मीहरू नै डराइरहेका छन्।उनको सपना पनि मान्छेका यस्तै दु:ख र डरसँग जोडिएको थियो। यो रातमा देख्नेमात्र होइन उनी र उनका भाइले दिनमा देख्ने सपनाजस्तो थियो।बिहान भाइ उठेपछि उनले आफूले कस्तो सपना देखें भनेर सुनाए।

‘कोरोना लागेका बिरामीलाई औषधी र खानेकुरा पुर्‍याउन डाक्टर र नर्स डराइरहेका रैछन्। अनि तैंले मलाई भनिस रे, बिरामीलाई औषधी र खानेकुरा पुर्‍याउने रोबोट बनाउ न। त्यसपछि हामीले रोबोट बनाउँदै अस्पतालहरूलाई दिएको रे,’ उनले सपनाबारे सुनाए, ‘रोबोट चाहियो भनेर अस्पतालहरूले हामीलाई भनेको भन्यै थिए। हामीले रोबोट बनाइरहेकै थियौं म ब्युझिहालें।’

उनको सपना सुनेर भाइका आँखा चम्किए।’त्यस्तो रोबोट त बनाउन सकिन्छ। हामी पनि सक्छौं। बनाऔं न,’ उनले भने।लवको त्यसमा असहमति हुने कुरै थिएन।तर लकडाउन छ, समान कसरी ल्याउने? उनीहरूको मन बेचैन भैरह्यो।उनीहरूले पहिलै एउटा रोबोट बनाइसकेका थिए। आफ्नो कोठामा गए। पहिले-पहिले रोबोट बनाउन जम्मा पारेका सामान हेरे।

त्यसका लागि ल्याएका सामान जोडजाड पारेर पनि सिङ्गो रोबोट बनाउन गाह्रै हुन्थ्यो। तर उनीहरूलाई त सपनामा देखेजस्तो रोबोट बनाउनै परेको थियो। सपनाको रोबोट दुबैको दिमागमा सामान बोकेर हिँड्न थालिसकेको जो थियो।दुबैले सल्लाह गरे- यिनै रहलपहल सामानले थालिहालम्। पुगेन भने हाम्रो रोबोट फुकालम्ला।’नभन्दै पहिले बनाएको रोबोर्ट फुकाल्नै पर्‍यो। हामी नयाँ रोबोट बनाउँदै थियौं पुरानो फुकाल्दै,’ लवले सेतोपाटीसँग भने।

लकडाउनको समयमा दिनरात नभनी उनीहरू खटिए।बुटवल उपमहानगरपालि-१० योगिकुटीमा बस्ने जुम्ल्याहा दाजुभाइ लवकुश कम्प्युटर विषय लिएर तिलोत्तमा कलेजमा कक्षा ११ मा पढ्दै छन्।रोबोटका लागि खटिने जाँगर भने उनीहरूलाई कक्षा २ देखि नै चलेको हो। रोबोट सपनाले उनीहरूलाई चैनले बस्नै दिँदैन।उनीहरूले एकदिन टिभीमा एउटा अचम्मको फिल्म हेरेका थिए, रजनीकान्तको रोबोट।

रोबोट देखेर दाजुभाइ नै दंगै परे रे।फलाम/स्टिलका सामानबाट बनाएको जिनिस मान्छेझैं चलेको देखेर उनीहरूलाई सुरूमा त सपनाजस्तै लागेको थियो। त्यस्तै रोबोट बनाउने उनीहरूमा धुन चढ्यो।उनीहरूले मेसिनसँग खेल्न थालेको त्यहीबेला देखि हो।आमा ईन्दिरा पन्थीका अनुसार घरमा भएका भाँडाकुँडा चलाइरहन्थे। केही भेट्टायो भने खोलखाल पारेर हेरिसक्थे।

‘चार कक्षामा पढ्दा रिमोट कन्ट्रोल बनाए। चक्का जोडेर गाडी बनाउने, पानीको पाइप जोडेर पंखा बनाउने गर्थे,’ उनले भनिन्।जब अलि ठूला भए उनीहरूले रोबोट बनाउने अनेक जुक्ति निकाले/सिके। तर अझै पनि आमाबुवालाई समान किन्दिनुस् न भन्ने आँट गरिसकेका थिएनन्। ९ कक्षा पुग्नेबेलासम्म उनीहरूले पर्खिए।त्यसपछि भने रोबोट बनाउन चाहिने सामान किन्दिन उनीहरूले आमाबुवालाई राजी बनाए। आमाबाले पनि उनीहरूको क्षमता चिनिसकेका थिए।

यसरी उनीहरूको रोबोट यात्रा सुरू भएको थियो।उनीहरू अहिले पनि कुनै समय खाली बस्न नखोज्ने पन्थीले बताइन्। फुर्सद निस्कियो कि केही न केही नयाँ कुरा गरिरहेका वा खोजिरहेका देखेर आमाबाको मन फुर्किन्छ। तर उनीहरूलाई यो सब गर्न पैसा जुटाइदिनुपर्ने चिन्ता सधैँ हुन्छ।उनीहरूले ९ कक्षामै पढ्दा पहिलोपटक रोबोट बनाएर देखाएका थिए।

पहिलो पटक बनाएको रोबोटको नाम उनीहरूले गोगो राखे। उसले सोधिएका हरेक प्रश्नको जवाफ दिनसक्थ्यो। धेरै भाषाको अनुवाद गर्न सक्थ्यो तर चल्न सक्दैनथ्यो। तै पनि पहिलो रोबोटले उनीहरूलाई निकै प्रंशसा पनि दिलायो।

कक्षा १० मा एसईई परीक्षाको तयारीसँगै उनिहरूले गोगो रोबोट-टु बनाए।हेर्दा दुरूस्त मानिसजस्तै देखिने उक्त रोबोटलाई दौरा सुरूवाल र टोपी लगाइदिएर नेपाली पहिचान दिएका थिए।रोबोटले हात चलाउने, हिँड्न सक्ने टाउको घुमाउने, किताब पढ्ने, फोटो खिचेर फेसबुकमा अपलोड गर्थ्यो, कुनै परिकारको नाम बतायो भने त्यसको रेसिपी भन्न सक्थ्यो। गोगो रोबोट-टु हेर्दा नेपाली जस्तो देखिए पनि अंग्रेजी भाषा बुझ्थ्यो र अंग्रेजी नै बोल्थ्यो। त्यो रोबोट हेर्नेहरूले नेपाली भाषा बोल्ने रोबोट बनाउन सुझाव दिए।

त्यसकै आधारमा लवकुशले आफ्नो तेश्रो रोबोट बनाए ‘लवकुश मार्स’।एसईई परिक्षा दिएर बसेको खाली समयमा बनाएको ‘लवकुश मार्स’ नेपालमा बनाएको नेपाली भाषा बुझेर बोल्न सक्ने पहिलो रोबोट भएको लवकुशको दाबी छ।उक्त रोबोट हिँड्ने डुल्ने मात्र होइन नेपालीमा दोहोरो संवाद गर्ने र नजिकै कोही गयो भने हात मिलाउने समेत गर्छ।

‘हामीले बनाएका पहिलो र दोश्रो रोबोट बोल्ने, हात चलाउने, टाउको घुमाउने गरे पनि हिँड्न सक्दैनथे तर लवकुश मार्सले मानिसलाई फलो गरेर हिँड्न सक्थ्यो, मानिससँग बोलेजस्तै बोल्थ्यो,’ लवले भने।आफ्नो लागि उनीहरूले ३ वटा रोबोट बनाए। आफ्ना लागि बनाउने चाहना अब पूरा भयो रे। अब समुदायका लागि काम लाग्ने रोबोटहरू बनाउन चाहन्छन्।

उनीहरूले रोबोट तथा मसिनहरू बनाउँछन् भन्ने थाहा पाएर केही समयअघि शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उनीहरूलाई योगिकुटी चोकमा राख्न अटोमेटिक सेनिटाइजर सेन्सर मेसिन बनाउन लगाएको थियो।

‘हाम्रो सोखको लागि रोबोट बनाएर पुग्यो। हामीले बनाएका रोबोट मान्छेहरूको समाजको हितमा काम आऊन् भन्ने लागेको छ,’ कुशले भने, ‘गो कोरोना रोबोटपछि हामी पाँचौ रोबोट बनाउने तयारीमा छौं।’

कस्तो र के प्रयोजनको लागि बनाउन लागेको भन्ने सार्वजनिक गर्न भने चाहेनन्।आफ्ना रोबोट मानिसहरूको काममा आउन् भन्ने कतिसम्म चाहन्छन् भने उनले सपनामा पनि बिरामीलाई सेवा दिने रोबोट बनाइरहन्छन्।

सपना देखेको महिना दिनमा लवकुशले कोरोना बिरामीलाई सेवा दिने रोबोट बनाइसकेका छन्। यो उनीहरूको चौंथो रोबोट हो। यसको नाम उनीहरूले गोगो कोरोना राखेका छन्।उनीहरू रोबोट बनाउँदा आकर्षकमात्र होइन सफ्टवेयरलाई प्राथमिकता दिएर बनाउँछन्।

गो कोरोना पनि हेर्दा आकर्षक देखिन्छ।चार फिट अग्लो, एक फिट मोटाइको गो कोरोना रोबोटमा हाइटेक माइक्रोफोन, १२ एमपीको क्यामरा, अल्ट्रासाउन्ड स्पिकर जडान गरिएको छ। रोर्बटमा जडित माइक्रोफोनले मानिसको आवाज सुन्न सक्ने र आवाजलाई सफ्टवेयरको माध्यमबाट बुझेर जवाफसमेत फर्काउन सक्छ।

कोरोनाका संक्रमितको सेवामा प्रयोग गर्ने भनी तयार गरिएको भएकोले यस रोबोटमा फलाम, फर्निचरजस्ता वस्तुको प्रयोग अत्यन्त कम गरिएको छ। त्यसको सट्टा कपर, हार्ड प्लास्टिक, कार्डबोर्डको प्रयोग बढी भएको छ।गो कोरोना ८० हजार बढी लागतमा तयार गरिएको हो।

Related Articles

Back to top button
Close