समाचार

आरडीटीको चक्करमा नराम्ररी फस्यो सरकार, घर पठाएका ८७ जनामा कोरोना पुष्टि

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण पहिचानका लागि आरडीटी किटलाई प्रयोग गर्न थाल्दादेखि नै आलोचना भइरहेको छ । तर सरकारले जबरजस्ती आरडीटी किटलाई प्रयोग गर्दै गएको छ ।आरडीटी किटको चक्करमा अब सरकार नराम्ररी फसेको देखिएको छ । आरडीटी नेगेटिभ आएर घर पठाइएका व्यक्तिको मृत्यु भइरहेको छ भने दैलेख जिल्लामा गाउँभरि कोरोना फैलिएको आशंका गरिएको छ ।

भारतबाट घर फर्किएका व्यक्ति बढ्दै गएपछि दैलेखको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १० दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई आरडीटी गरेर घर पठाउने निर्णय गरेपछि नारायण नगरपालिकाले नारायण क्याम्पस र माविको क्वारेन्टाइनमा रहेकालाई आरडीटी गर्दै नेगेटिभ आएपछि ८२२ जनालाई घर पठाको थियो ।

तर घर पठाइएकामध्ये केहीको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकामा शुक्रवार एकैपटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये आरडीटी नेगेटिभ आएर घर पठाइएका ८७ जनाको नाम समेत रहेको स्रोतले जनाएको छ ।

आरडीटीको भर पर्दा १–२ जनामा होइन, ८७ जनामा गलत रिपोर्ट आउँदा अहिले दैलेखमा त्रास फैलिएको छ । आरडीटी नेगेटिभ आएर घर गएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ, सबै व्यक्ति गाउँघरमा घुलमिल भइसकेका जनाइएको छ । घर गएका व्यक्तिको खोजी भइरहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।

संक्रमित नै धेरै भएपछि आइसोलेसन नाम दिइएपनि गाउँकै क्वारेन्टाइन स्थलमा राखिएको छ । मेयर रत्नबहादुर खड्काले संक्रमण पुष्टि भएका २१ जनालाई महेन्द्र माविको क्वारेन्टिनमा राखिएको र केहीलाई डाँडागाउँको प्राविमा राखिएको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले केन्द्रीय निर्णयअनुसार नै आरडीटी गरेर घर पठाएको तर पीसीआर पोजेटिभ आएको बताए । ओली सरकारले आरडीटी गरेर घर पठाउन देशभर निर्देशन दिएको थियो । क्वारेन्टाइन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुनसक्ने उनको अनुमान छ ।

आरडीटी गरेर घर पठाएका धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिएको पाइएपछि ओली सरकार आरडीटीको चक्करमा कसरी फसेको छ भन्ने पुष्टि भएको छ । यसअघि सुर्खेत र डोल्पामा आरडीटी नेगेटिभ आएर घर पठाएका व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको थियो । मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ ।

Related Articles

Back to top button
Close