समाचार

सरकार ! लकडाउनको विकल्प सोच

चीनको बुहानबाट सुरु भएको कोरोना (कोभिड १९) को महामारीका कारण आजका दिनसम्म ६० लाख ५० हजारभन्दा बढी संक्रमितको पहिचान भइसकेको छ भने ३ लाख ६७ हजार जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म १४ सय जनामा कोरोना संक्रमणको पुष्टि हुनुका साथै ७ जनाको मृत्यू भएको छ । यो संख्या दिनानुदिन बढ्दो छ ।

मानिसबाट मानिसमा तिब्ररुपले सर्ने कोरोनाको संक्रमणलाई रोक्न अन्य मुलुकले झै हाम्रो मुलुकमा पनि गत चैत्र ११ गतेदेखी लकडाउनको घोषणा गरियो, जुन आज ६९ औ दिनसम्म पनि जारी छ । सामाजिक दुरीलाई कायम गर्दै गृहबन्दीको कहालीलाग्दो अवस्थामा ’बिचरो’ जीवन जिउँदै आएका छौं हामी ।

‘लकडाउनको यो अवस्था कहिलेसम्म ?’ हामी सबैको मनमा उब्जिने साझा प्रश्न वा जिज्ञासा यही नै हो । तर यकीन जवाफ कसैसँग छैन ।मेरो बुझाईमा, हाल विश्वका अधिकांस मुलिकहरुले अंगिकार गरेको लकडाउनको रणनीती भनेको कोरोनाको सम्भावित खतरालाई पछि धकेल्ने एउटा अस्थाई उपाय मात्र हो । यसले स्थायी समाधान दिन सक्दैन । दक्षिण कोरियाले पूर्ण लकडाउन भन्दा सामाजिक तथा भौतिक दुरी व्यवस्थापनमा बढी ध्यान दिएको थियो । उसले यही रणनीतिबाट कोरोनाको संक्रमणलाई व्यवस्थापन गर्न सक्यो ।

जापानले पनि यही रणनीति अबलम्बन ग‍र्‍यो । साथै स्वीडेन र डेनमार्कजस्ता देशले लकडाउनलाई खुकुलो गर्दाका बखतमा पनि संक्रमितको संख्या घटाएरै देखाएका छन् । तर हामी भने कोरोना रोकथामको अस्थाई उपायलाई अबलम्बन गर्दै ६९ दिनको कष्टपूर्ण यात्रासम्म आइपुग्दा रनभुल्लमा परेका छौं । अज्ञात भविष्यको चिन्तामा डुबेका छौं र दिमागमा उही जिज्ञासा उब्जाई रहेका छौं– ‘लकडाउनको यो कष्टप्रद यात्रा कहिले टुङ्गिन्छ ?’

आमसञ्चारहरुमा प्रकाशित भएका समाचारअनुसार लकडाउनको यो अवधिमा देशभित्र करिव ५०० जनाले आत्महत्या गरिसकेका छन् । कोरोना संक्रमित र यसबाट मृत्‍यु भएकाहरुको तथ्यांकमा मात्रै आँखा दौडाइरहेका हामीले यो तथ्यांकलाई नजरअन्दाज गरिरहेका छौं । कोरोनाबाहेक अन्य रोगका कारण मृत्‍यु हुनेहरुको कुनै मूल्य छैन । भोकका कारण मर्नेहरुको तथ्यांक खोज्ने कस्ले ?

म सोच्छु, गेटमा ताला झुण्डिएका कलकारखानामा काम गर्ने मजदुरहरुको दैनिक गुजारा कसरी चलिरहेको होला ? दैनिक ज्याला–मजदुरी गर्ने विपन्न बर्गहरुको छाक कसरी टरिरहेको होला ? सरकारी निकाय, विभिन्न व्यक्‍ति तथा संघ–संस्थाले वितरण गरेको राहतले उनीहरु कति दिन थेगिएलान् ?

घरभित्रै थुनिएका करिब ६० लाख विद्यार्थीहरुको शैक्षिक तालिका भताभुङ्ग भईसक्यो । कृषकहरुले सिजनअनुसारको खेतीपाती गर्न पाएका छैनन् । दैनिक व्यापार घाटाले उद्योगी तथा व्यवसायीहरुको टुप्पी डुब्ने बेला आइसक्यो । लकडाउनको यो स्थिर र अचल अवधिमा बिना जानकारी नै लाखौं व्यक्तिको रोजगार गुमिसक्यो ।

सबै क्षेत्र र सबै तप्कामा लकडाउनको नकारात्मक प्रभाव क्रमशः देखिंदैछ । यही सन्त्रासको माहौलका बीच हामी शारीरिक र मानसिक रुपमा दिनदिनै कमजोर हुँदै गइरेहेका छौं । मैले यी शब्दहरु ब्यक्त गरिरहँदा आम मानिसलाई हतोत्साही गर्न खोजिएको जस्तो देखिएला । तर वास्तविकतालाई पर्दाले कहिलेसम्म छोप्न सकिन्छ र !

छिमेकी राष्ट्र भारतलाई कोरोनाले आक्रान्त पारेको खबर सुनिरहँदा भारतीय सिमानामा कडाइ नगरिनु अनी भारतमा कार्यरत नेपाली कामदारहरुलाई ब्यवस्थित रुपमा देश भित्र्याउनेप्रति चासो नदेखाउनु हाम्रो भुल थियो ।

उडेर आउनेहरुतर्फ आँखा लगाउँदा हिँडेर आउनेहरु ओझेलमा परे । क्वारेन्टाइनको उचित व्यवस्थापन नहुनु, र्‍यापिड टेस्टको लागि ध्यान नदिनु पनि हाम्रा कमजोरी हुन् । लकडाउनलाई कोरोनाको रामवाण औषधी मान्ने भुल हामीबाट भएकै हो । अझै पनि त्यही भुलको निरन्तरतामा छौं हामी । लकडाउनको विकल्पबारे हाम्रो गृहकार्य शून्य छ ।

आमजनता माथि ओढाइएको लकडाउनको खास्टोलाई हटाउन सरकारबाट एउटा ठोस कार्ययोजना सार्वजनिक गर्नुपर्ने बेला आइसकेको छ । बरु यो अवस्थामा आमजनजीवनलाई सरल र सहज बनाउनका निम्ति प्रभावकारी तथा कार्यक्रमहरु सार्वजनिक गर्नु सरकारको प्रमुख दायित्व तथा जिम्मेवारी हो ।

यसपटकको वार्षिक नीति तथा कार्यक्रममा मैले यसको अभाव देखेकी छु । कोरोना संक्रमणले निम्त्याउन सक्ने नकारात्मक प्रभावहरुको पुर्वानुमान गरी ती प्रभावहरुलाई व्यवस्थापन गर्न यसपालिको नीति तथा कार्यक्रमभित्र जे–जति योजनाहरु समावेश हुनु पर्ने हो, त्यो भएको छैन ।

अबका एकाध बर्षसम्म ठूला पूर्वाधारको निर्माणभन्दा पनि आमजनताले गास, बास र कपासको सुनिश्चिता होस् भन्ने आशा राखेका छन् । लकडाउनलाई खुकुलो बनाउँदै आफ्नो दैनिकीलाई पुरानै अवस्थामा फर्काउनको लागि सरकारको तर्फबाट ठोस योजनाहरुको आशा गरेका म जस्ता आमजनताको मन खिन्न भएको छ ।

हामीले बुझ्नुपर्छ, यतिखेर मानिसहरु मात्र घरभित्र बन्दी भएका छैनन्, उनीहरुका श्रम, सीप र कलाका साथै जोश, जाँगर र हिम्मतहरु समेत कैद भएको छ । लकडाउनले विकासको गतिलाई अवरुद्ध तुल्याइदिएको छ ।

रोगको त्रासभन्दा भोकको ज्वाला खतरनाक हुन्छ । त्यसैले कोरोना रोकथामको अस्थायी उपायको रुपमा अबलम्बन गरिएको लकडाउनमाथि पुनर्बिचार गर्न तत्पर नहुने हो भने भोलिको स्थिति भयावह हुने देखिन्छ ।

यतिखेर सबैको भरोसा सरकारमाथि अडिएको छ । सरकारले आठौं पटक लकडाउनको अवधि थपेर जेठ ३२ गतेसम्म पुर्‍याएको छ । लकडाउनको अन्त्यका लागि वैकल्पिक उपायहरु सरकारले केही पनि अघि सारेको छैन । अतः हाम्रो यो आशा निराशामा परिणत भइरहेको छ ।

‘लकडाउन कहिले हट्छ ?’ भन्ने आम जिज्ञासालाई सम्बोधन गर्न एउटा ठोस नीति तथा कार्य योजना सरकारले तुरुन्त अघि सारोस् ।

Related Articles

Back to top button
Close