समाचार

‘गर्भको बच्चालाई कोरोना सर्दैन, तर प्रसुतीमा सावधानी अपनाउनुपर्छ’

१७ जेठ, चितवन । भरतपुर अस्पताल काठमाडौंको प्रसुतीगृहपछि सबैभन्दा बढी प्रसुती सेवा प्रदान गर्ने सरकारी अस्पताल हो । सरकारी तथ्यांकअनुसार हरेक वर्ष देशभर करिब चार लाख सुत्केरी हुन्छन्, जसमध्ये वार्षिक साढे १३ हजारले भरतपुर अस्पतालबाट सुरक्षित मातृत्व सेवा लिएका छन् ।

चितवन र यस वरपरका जिल्लाबाट समेत प्रसुती गराउन भरतपुर अस्पतालमा ल्याउने गरिन्छ । अस्पतालका ६ सय शैयामध्ये १२० शैया स्त्री तथा प्रसुती रोग विभागका लागि छुट्टाइएको छ । भरतपुर अस्पतालमा गत वर्ष १३ हजार ५ सय ४५ महिलाहरुले सुरक्षित मातृत्व सेवा लिएका थिए ।

प्रा.डा. सुनीलमणि पोखरेलले भरतपुर अस्पतालमा प्रसुती विभागको नेतृत्व लिइरहेका छन् । उनी मातहत १३ चिकित्सक, ५ जना रेजिडेन्ट चिकित्सक झण्डै ११५ जनाले काम गरिरहेका छन् । अहिले पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा दैनिक झण्डै एक सयजना बिरामी हेरिरहेको डा. पोखरेल बताउँछन् ।

पछिल्लो समय कोरोना महामारी र लकडाउनका कारण गर्भवती एवं सुत्केरीहरुमा जोखिम र चिन्ता बढेको छ । यो अवस्थामा सरकार, स्वास्थ्यसंस्थाहरु र गर्भवती/सुत्केरीहरुले ख्याल गर्नुपर्ने विषयहरु के कस्ता हुन सक्छन् भन्नेबारे आम जनचासो बढेको छ । यसै सन्दर्भमा भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख प्रा.डा. पोखरेलसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ

कोरोना भाइरसको संक्रमण बढिरहेको छ, कसरी उपचार गराइरहनुभएको छ ?कोरोना भाइरसको संक्रमणले सबैतिर त्रास फैलिएको छ । जोखिम त सबैलाई छ नै । तैपनि हामीले सावधानी अपनाएर गर्भवतीको उपचार गरिरहेको छौं । हामी हाम्रो जिम्मेवारीबाट पन्छिन मिल्दैन । गर्भवतीहरूको जाँच, उनीहरूलाई आइपर्ने समस्या, सुत्केरी गराउने जस्ता विषय अहिले नगरौं, पछि सारौं भन्न मिल्ने अवस्था हुँदैन । कतिपयले साधारण तरिकाबाट बच्चा पाउनुहुन्छ भने कतिपयको अप्रेशन नै गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा जतिबेला पनि तयार भएर बस्नुपर्छ । प्रसुती गराउने चिकित्सक र स्वास्थ्यकर्मीहरु कोभिड १९ को उपचार गर्ने स्वास्थ्यकर्मी पछि दोस्रो नम्बरमा जोखिममा छन् । यो जोखिम मोलेर नै काम गरिरहेका छौं । अहिले कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । अहिले त कम्युनिटीमा टान्र्सफर भैसकेको जस्तो पनि देखिन्छ । यो अवस्था भनेको हाम्रा लागि समेत जोखिम हो ।

हामीले अरू सरुवा रोग भएका बिरामीको अप्रेसन गर्दा जुनखालको सावधानी अपनाएर काम गर्दथ्यौँ, अहिले सबैमा त्यही विधि अपनाएका छौं । संक्रमण नभए पनि छ भनेर काम गर्नुपर्दछ । त्यसले बच्चा, आमा, स्वास्थ्यकर्मी सबै सुरक्षित हुन्छन् । तर, यसो भन्नुको अर्थ बिषेश ध्यान नदिने भन्ने चाँही हैन । हेपाटाइटिस बी, एचआईभीका बिरामीबाट डेलिभरी गराउँदा जस्तै सावधानी अपनाएका छौं । कोभिड १९ का लागि छुुट्टै त्यस्तो केही चाहिँदैन ।

भरतपुर अस्पतालमा आउने कुनै पनि बिरामीलाई बाहिर नपठाउन मैले कडा निर्देशन नै जारी गरेको छु । कसैले बाहिर पठाएको जानकारी भए कारर्वाही पनि गर्छु । हामी उच्च मनोबलका साथ काम गरिरहेका छौं ।

भरतपुर अस्पतालमा सुत्केरीहरुको चाप कस्तो छ ?अहिले पनि भरतपुर अस्पतालमा सुत्केरी गराउनहरूको संख्यामा खासै कमी आएको छैन । अप्रेसनको संख्या घटेको छैन । तर, शल्यक्रियाबाहेक साधारण तरिकाले सुत्केरी गराउनेको संख्यामा भने केही कमी आएको जस्तो देखिन्छ । यसको मतलब, लकडाउनमा उनीहरू अस्पतालसम्म आइपुगेन् । घर नजिकैको स्वास्थ्यकेन्द्रमा प्रसुती गराएजस्तो लाग्छ ।

तर, पहिला अप्रेसन गराएर बच्चा पाएका महिलाहरुले दोस्रोपटक बच्चा पाउँदा अनिवार्य अप्रेसन नै गर्नुपर्छ । बैशाख महिनामा नौ सय जनाले अस्पतालबाट सुरक्षित मातृत्व सेवा लिएका छन् । तीमध्ये २७३ जना गर्भवतीको अप्रेशन भयो । जेठमा अहिलेसम्म ७३३ महिलाले सुरक्षित मातृत्व सेवा लिइसक्नुभएको छ ।

अहिले अस्पतालमा दैनिक १० वटा अप्रेशन हुने गरेको छ । ६० जना जति ओपिडीमा हेछौं । आकस्मिक केस पनि हुन्छन् । राउण्ड पनि गरिरहेका हुन्छौं । आकस्मिक बाहेक मिति र समय मिलाएर बिरामी हेर्न सकिन्छ । त्यसतर्फ पनि सोचिरहेका छौं ।

गर्भवती र सुत्केरीलाई लकडाउनको जोखिम कत्तिको परेको छ ?अहिले लकडाउनको बेलामा गएका बर्षहरुमा पनि गभर्वती र सुत्केरीहरुको मृत्युदर बढेको देखिएको छ । यो अवधिमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यो दुःखद छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो संख्या झण्डै चार गुणा बढी छ । गत वर्ष यो अवधिमा ८ जना मृत्यु भएको थियो ।

लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पु‍र्‍याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको छ । मेरो बिचारमा कपितय ग्रामीण भेगमा यातायातको असुविधा पनि छ । रोग सर्छ भन्ने डर पनि कतिपयलाई होला । ढिला अस्पताल पु‍र्‍याउनु, रक्तश्राव बढी हुनु, पाठेघर फुट्ने जस्ता कारणले ज्यान जान सक्छ । यसबारे हरेक स्थानीय तह, स्वास्थ्यकर्मीहरु चनाखो बन्नुपर्छ । गर्भवतीहरुलाई समयमा नै स्वास्थ्य संस्थामा लैजान ढिला गर्नुहुन्न । लकडाउन लम्बिदै जाँदा गर्भवती तथा सुत्केरीहरु जोखिममा पर्दै जाने देखिन्छ, यसमा सहजता ल्याउनुपर्दछ ।

कोरोना भाइरसका कारणले भएको नेपालको पहिलो मृत्यु नै सुत्केरीको भएको छ । यसले चिन्ता बढाएको छ ।कोरोना भाइरसका कारणले गर्भवती र सुत्केरीहरु कतिको जोखिममा पर्छन् ?पक्कै पनि कोरोनाको जोखिम गर्भवती र सुत्केरीलाई नहुने भन्ने कुरा भएन । विषेशतः सुगर, प्रेसर भएका वा अन्य रोग भएका महिला गर्भवती भए र त्यहीबेला कोरोना संक्रमण भयो भने बढी जोखिम हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा फेरबदल आउने र हर्मोनसमेत परिवर्तन हुने कारणले सामान्य जोखिम त रहन्छ नै । तर, यसो भन्दैमा आत्तिहाल्नुपर्ने भने हुँदैन ।

पर्याप्त सावधानीहरु अपनाउने, परिवारले पनि उत्तिकै सहयोग गर्ने काम गर्नुपर्छ । संक्रमणको डर छ भन्दैमा नियमित चेकजाँच गर्न छाड्नुहुँदैन । कतिपय गर्भवती तथा सुत्केरीहरु घरमै बस्नुपरेकाले नियमित स्वास्थ्य चेकजाँचमा जान नपाएको गुनासो पनि सुन्ने गरिएको छ । यसमा सहजीकरण गर्नुपर्छ ।

अर्को के छ भने, गर्भमा रहेको बच्चा कोरोना सर्ने जोखिम हुँदैन । किनकि भाइरस सालनालबाट भित्र जान सक्दैन । बच्चालाई सरेको एकदमै कम छ । सर्ने तरिका फरक छ । भाइरल लोड कति छ भन्ने कुरामा पनि निर्भर रहन्छ ।

गर्भमा रहेको बच्चामा आमाको रगत जाने हुँदैन । सालको माध्यमबाट पोषण मात्र जाने गर्छ । पुरुषको तुलनामा महिलामा जोखिम कम छ । महिलामा एक्स–एक्स क्रोमोजोम हुन्छ । रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ ।

अर्को कुरा, खासै महिलाहरु धेरै मान्छेसँग भेट्ने, डुल्दै हिँड्ने, मदिरापान, धुम्रपान सेवन गर्ने काम पुरुषको तुलनामा कम गर्छन् । उनीहरूमा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या पनि कम हुन्छ । कोरोनाबाट अरू मानिस जति जोखिममा हुन्छन्, गर्भवती पनि त्यत्तिकै जोखिममा हुने एउटा पक्ष हो, तर गर्भवती भएकै कारण अतिरिक्त जोखिम चाहिँ हुँदैन । गर्भवती तथा सुत्केरी अवस्थामा जोखिम त आउन सक्छ, तर पूर्वसावधानी अपनाउनुपर्छ । खासगरी गर्भवती तथा सुत्केरीले खानेकुरा, सरसफाइ, नियमित स्वास्थ्य चेकजाँचमा विशेष ख्याल गरेमा डराउनुपर्ने केही छैन ।

पहिलो कोरोना संक्रमितको मृत्यु नै सुत्केरी महिला भएको देखियो, यसमा के भन्नुहुन्छ ?नेपालमा संक्रमण भित्रिएको झन्डै चार महिनापछि कोरोना भाइरसबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट पहिलो मृत्यु भयो, यो दुःखद भयो । यसले पक्कै पनि केही पाठ सिकाएको छ । गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्छ भन्ने देखिन्छ ।

सुत्केरी गराउँदा र गराइसकेपछि पनि आमालाई जोखिम हुन्छ । उनीहरु यतिबेला कमजोर बन्छन् । यतिबेला अन्य समस्या पनि हुन सक्ने र भाइरसको संक्रमण पनि भयो भने जोखिम हुने नै भयो । त्यसैले, प्रसुती गराउने महिलाहरुको पनि अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्छ भन्ने लाग्छ । यसो हुँदा विषेश ख्याल गर्न सकिन्छ । जोखिमको पहिचान समयमा नै हुन्छ । यसमा ढिला नगरौं भन्ने सुझाव दिन चाहान्छु ।

सरकार र सम्वद्ध निकायहरुलाई यहाँ के भन्न चाहनुहुन्छ ?हामी फ्रन्टलाइनमा बसेर काम गरिरहेका छौं , हाम्रो मनोबल उच्च बनाउने काम गरिदिनुस् । गर्भवतीहरुलाई अस्पताल तथा स्वास्थ्य चौकीसम्म चेकजाँचका लागि ल्याउने व्यवस्था मिलादिनुस् । खोपहरु नियमित लिने बारे जनचेतना फैलाउन काम होस् । र, अर्को कुरा के छ भने अप्रेशन गर्नुपर्ने गर्भवतीहरुको अनिवार्यरुपमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइदिनुपर्दछ । किनकि यसले हामीलाई पनि निर्धक्क भएर काम गर्न सक्ने वातावरण तयार हुन्छ । सुत्केरी गराउनुपर्ने महिला र परिवार पनि ढुक्क हुन सक्छन् । अरु कुरामा त हामी दिनरात तयार नै छांै ।

साथै, सबै स्थानीय तहमा स्वास्थ्य संस्था, बर्थिङ्ग सेन्टर छन्, तिनीहरुलाई आवश्यक स्रोत साधन जुटाउने काम गरिदिनुस् । कोरोना र लकडाउनको गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षा छायामा पर्नुहुन्न । यसतर्फ सबै सचेत बनौं ।

Related Articles

Back to top button
Close