समाचार

वडावासीलाई भारतीय सीमाबाट गाडी चलाएर घर ल्याउने वडाध्यक्षमा देखियो कोरोना

भारतबाट फर्किएका बाँकेको राप्ती सोनारी गाउँपालिकाका स्थानीय। फाइल तस्बिर।भारतबाट फर्किएका बाँकेको राप्ती सोनारी गाउँपालिकाका स्थानीय। फाइल तस्बिर।भारतबाट घर फर्किने मजदुरलाई आफैं गाडी चलाएर सीमासम्म पुगी उद्धार गर्ने बाँकेका एक वडाध्यक्षमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय ती वडा अध्यक्षलाई बुधवार संक्रमन पुष्टि भएको हो।ज्याला मजदुरी गर्न भारत गएकाहरू सीमासम्म आइपुगेको र उनीहरूलाई घरसम्म ल्याउने मानिस कोही नभएपछि आफैं गाडी चलाएर रुपैडिहा गएर मानिस ओसार्दाओसार्दै ती वडाध्यक्ष संक्रमित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए।

‘भारतबाट घर फर्किनेलाई चालक लिन जान मान्दैन थिए,’ संक्रमित वडाध्यक्षले सेतोपाटीसँग भने ‘म आफैं चालक बनेर रुपैडिहाबाट धेरैलाई उद्धार गरेर ल्याएँ। त्यही क्रममा मलाई पनि संक्रमण भएको हुनुपर्छ।’उनले जेठ ७ गते भारतबाट आएका ५६ मध्ये राप्तीपारिका २४ जनालाई अर्कै बसमा पठाए। आफ्नो वडाका २७ जनालाई आफैं गाडी चलाएर घरसम्म ल्याए। ती २७ मध्ये एकजना बिरामी थिए। उनलाई आफैंले उठाएर वडाध्यक्षले गाडीमा हालेर घरसम्म पुर्‍याए। २० वर्षजतिका ती युवालाई राति ज्वरो आयो। एम्बुलेन्स बोलाएर राति नै नेपालगन्जको भेरी अस्पताल पुर्‍याइएका ती युवालाई अर्को दिन कोरोना पुष्टि भयो।

आफैंले उठाएका व्यक्तिमा कोरोना पुष्टि भएपछि वडाध्यक्ष झस्किए। जेठ ११ गते आफूसहित छिमेकी वडाध्यक्षको समेत स्वाब संकलन गर्न लगाए। भेरी अस्पतालमा गरिएको परीक्षणमा छिमेकी वडाध्यक्षको रिपोर्ट नेगेटिभ आए पनि उनलाई कोरोना संक्रमण देखियो।‘मैले पुरै सावधानी अपनाएको थिएँ। मास्क, ग्लोभ्स लगाएर गाडी चलाउँथें,’ संक्रमित वडाध्यक्षले भने ‘घरमा पुग्नासाथ नुहाउँथें र कपडा बदल्थें, तैपनि मलाई कोरोना पोजेटिभ देखियो।’

उनले आफूसहित अन्य संक्रमित वडाले नै निर्माण गरेको आइसोलेनसमा बसेको र सबैको अवस्था सामान्य रहेको जानकारी दिए।उनले आफू बसेको आइसोलेन व्यवस्थित रहेकाले कुनै समस्या नरहेको बताए।‘म अवश्य कोरोना भाइरसलाई जितेर फेरि जनताको सेवामा लाग्ने छु,’ उनले भने ‘जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दागर्दै ढलिएछ भने पनि पीर छैन।’

उनले आफ्नो सामाजिक सञ्जालमा पनि त्यही कुरा लेखेका छन्- पिर त मेरा जनताको स्वास्थ्यको छ। भगवानसँग प्रार्थना गर्छु कसैलाई पनि केही नहोस्।उनले जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो ज्यान जोखिममा राखेर सक्दो प्रयास गरेको उल्लेख गरेका छन्। संक्रमित वडाध्यक्ष लकडाउन सुरू भएपछि गाउँ-गाउँमा पुगेर चेतनामूलक प्रचारप्रसार गर्थे। विपन्नलाई राहतदेखि भारतका सीमामा अलपत्र परेकाको उद्धारमा खटेका थिए। वडाले भाडामा लिएको गाडी चलाएर उनी सर्वसाधारणलाई नाकादेखि घरसम्म पुर्‍याउँथे।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीसमेत क्वारेन्टिनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले ती वडाध्यक्षमा कोरोना देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसमेत क्वारेन्टिनमा बसेको जानकारी दिए। संक्रमित वडाअध्यक्षसँग सम्पर्कमा आएका गाउँपालिका अध्यक्ष लाहुराम थारू, उपाध्यक्ष धनीकुमारी खत्री, केही वडाअध्यक्ष र कर्मचारी क्वारेन्टिन तथा होम क्वारेन्टिनमा बसेको उनले बताए।

अध्यक्ष थारूसहित केही जनप्रतिनिधि र कर्मचारी वडानम्बर ३ स्थित गाउँपालिकाकै सेल्टर हाउसमा बसेको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए।‘हामी पनि काम गर्न गएका छैनौं,’ बस्नेतले थपे, ‘परीक्षणको रिपोर्ट आएपछि मात्रै काममा फर्किने भन्ने छ।’उनीहरूको स्वाबको संकलन भने भइसकेको छैन। निकै चाप बढेको भन्दै स्वास्थ्यकर्मी आग्रह गर्दा पनि रिपोर्ट लिन नआएको उनले बताए।

गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि राप्ती सोनारीको वडानम्बर ८ मा उक्त दिन ५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए। यसअघि नै वडा नम्बर २ मा ३ जना, ७ मा २ र ९ मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

पछिल्लो समय वडानम्बर ८ मा २७ जनाको पिसिआर परीक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको छ। वडा नम्बर ९ मा ६ जनाको पिसिआर परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उक्त वडामा यसअघि नै एक जना युवकमा पनि कोरोना पोजेटिभ आएको थियो। वडा नम्बर २ मा २१ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा पोजेटिभ आएको छ। वडा नम्बर ७ मा ४६ जनाको पिसिआर परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ। वडा नम्बर ५ मा संकलन गरिएको २१ जनाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेको बस्नेतले बताए।

Related Articles

Back to top button
Close