समाचार

भारतबाट आएकाहरु भन्छन् : क्वारेन्टिनमा झन् असुरक्षित भयौं

१५ जेठ, कैलाली । भारतबाट स्वदेश फर्किएका सम्भावित कोरोना संक्रमित नेपालीलाई राख्न कैलालीको घोडाघोेडी नगरपालिका ३ स्थित सरस्वती आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा ५३ जना छन् ।अनेकौँ समस्या झेल्दै घर नजिकै आइपुगेका उनीहरुको क्वारेन्टिन बसाइ पनि कष्टपूर्ण छ ।

१२ जनाको समूहमा पञ्जाबबाट आएका गणेश बोहरा क्वारेन्टिन आइपुगेपछि झन् समस्यामा परेको बताउँछन् ।‘गौरिफन्टासम्म आउँदा हामी सुरक्षित थियौँ । त्यसपछि यता आउँदा समस्या भयो’ उनले भने, ‘सुत्ने सानो ठाउँ छ । एकातर्फ फर्किएर सुत्यो भने अर्काेतिर फर्किन मिल्दैन । एउटाको खुट्टा अर्काको टाउकोमा हुन्छ ।’खानेपानीकै व्यवस्था नहुँदा झन् समस्या परेको उनी बताउँछन् ।

‘घरबाट खाना लिएर आऊ भन्छन्’ बोहराले भने, ‘हामी भारतबाट आएका हौं । खाना पुर्‍याउन आउने–जाने गर्दा उनीहरु पनि जोखिममा पर्न सक्छन् ।’भारतको सबैभन्दा बढी संक्रमण फैलिएको क्षेत्र हो महाराष्ट्र । महाराष्ट्रको पुनाबाट आएका योगेन्द्रबहादुर शाही पनि आफू बसेको क्वारेन्टिन व्यवस्थित नभएको बताउँछन् ।

‘हामी जोखिमयुक्त क्षेत्रबाट आएको हौँ’ उनले भने, ‘क्वारेन्टिनमा पनि सही व्यवस्थापन नहुँदा ठूलो जोखिम आउँछ कि भन्ने चिन्ता छ ।’शाही जेठ १० गते गौरिफन्टा नामाबाट नेपाल भित्रिएका थिए । शाहीसँगै नेपाल आएका समशेर चन्द पनि क्वारेन्टिनको व्यवस्थापन राम्रो नहुँदा डर लागेको बताउँछन् ।

‘समस्या नै समस्या छ । सबै समस्याको समाधान नहोला तर, सामान्य विषयमा पनि चासो दिएका छैनन्’ उनले गुनासो पोख्दै भने ‘७०/८० जना छौं । सबैले एउटै शौचालय र खानेपानी प्रयोग गरेका छौँ । यहाँ त सबैबाट सबैलाई डर भयो ।’मुम्बईबाट आएका शंकर उपाध्यायले रातभरि लामुखुट्टेको शिकार हुनुपरेको गुनासो गरे ।‘झुल पनि दिएका छैनन् सुत्न पनि समस्या छ । खानाको पनि समस्या छ’ उनले भने, ‘दिनभरि चिन्ता लाग्छ रातभरि लामुखुट्टे लाग्छ ।’

मुम्बईबाट आएका शंकरबहादुर बिक क्वारेन्टिनको नाममा केही पनि नभएको ठाउँमा राखिएको गुनासो गर्छन् ।‘भुइँमा बिच्छ्याउने छैन, ओढ्ने छैन, झुल पनि छैन । एकै पटक व्यवस्था गर्न समस्या होला । तर, व्यवस्था त गर्नुपर्‍यो नि ’ उनी भन्छन्, ‘अहिलसम्म त कसैले चासो पनि दिएका छैन । ’स्वच्छ पिउने पानी र शौचालयमा चुकुल पनि नभएको यसै क्वारेन्टिनमा रहेका लालबहादुर बिकको गुनासो छ ।

‘हामीलाई पहिले खानेपानीको व्यवस्था हुनुपर्‍यो । मास्क, सेनिटाइजर पनि छैन । हामी नै असुरक्षित भएका छौं’ उनले भने, ‘म बसेको कोठामा बत्ति पनि छैन ।’घोडाघोडी नगरपालिका– ३ का वडाअध्यक्ष कमल थारु क्वारेन्टिनमा केही समस्या रहेको स्वीकार गर्छन् । ‘एक्कासी वडामा क्वारेन्टिन बनाउने निर्णय गरियो । पर्याप्त समय नहुँदा राम्रोसँग व्यवस्थापन गर्न पाइएको छैन’ उनले भने, ‘कुनै ठाउँमा पानीको व्यवस्थापन गर्न सकिएको छैन । कुनै ठाउँमा ओढ्ने, ओछ्याउने समस्या छ ।’

नगरप्रमुख ममता प्रसाद चौधरी भारतबाट हजारौं नागरिक आउँदा हामीलाई व्यवस्थापनमा समस्या परेको बताउँछन् । ‘हामी व्यवस्थापनलाई राम्रो बनाउने प्रयासमा छौं’ उनले भने ।

Related Articles

Back to top button
Close