समाचार

नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिनेछौं : प्रधानमन्त्री

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकांक्षाहरु र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनस्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ । लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौँ ।’

गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने चेष्टाहरु अनुचित हुन् भन्दै प्रधामन्त्री ओलीले इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि नसक्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौं ।’जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ भन्दै उनले प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्नु स्वाभाविक हुने बताएका छन् ।

गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान निर्माण गर्न र संक्रमणकालको अन्त्य गर्न केन्द्रित भएको स्मरण गर्दै प्रधामन्त्री ओलीले गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको दाबी गरेका छन् ।

जनताको चेतनाले ठूलो फड्को मारेको, विकास र समृद्धिका सपनाले साकार रुप लिन थालेको, आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको र राष्ट्रिय एकता सुदृढ भएको प्रधानमन्त्रीको भनाइ छ । ‘आफ्नो निर्णय आफैं गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढंगले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रंगमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

कोरोना महामारी सुरु हुनु पूर्वका सूचकहरु अत्यन्त उत्साहवद्र्धक रहेको भन्दै उनले लामो संक्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ नै ।’

Related Articles

Back to top button
Close