समाचार

नेपाली सेनाले भोलि चीनबाट ल्याउँदैछ २८ टन स्वास्थ्य सामग्री

१४ जेठ, काठमाडौं । कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले बिहीबार चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याउँदैछ । यसका लागि नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उड्दैछ ।नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट २८ टन स्वास्थ्य सामग्री ल्याइने बताए । जसमा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), कोरोना जाँचका लागि चाहिने पीसीआर किट लगायत हुनेछन् ।

यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याइसकेको छ । दोस्रो चरणको सामग्री पनि भन्सार प्रक्रिया पूरा भएर ग्वान्झाओमा जम्मा भएपछि वाइडवडी त्यसतर्फ प्रस्थान गर्न लागेको प्रवक्ता पाण्डेले बताए ।ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको सेनालाई दिएको थियो । तर सेनाले पनि लामो समय स्वास्थ्य सामाग्री ल्याउन नसकेपछि आलोचना भएको थियो ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वास्थ्य सामग्री ल्याउने बताए पनि आएन । भन्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।त्यसो त पहिले हवाई मार्गबाट सामान ल्याउने भनिए पनि ढिलाइ भएपछि सेनाको कन्टेनरले स्थलमार्गबाट पहिले ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याएको थियो । तातोपानी नाका हुँदै काठमाडौंसम्म आइपुग्न १० वटा ट्यांकरलाई १३ दिन लागेको थियो ।

अब थप अत्यावश्यक स्वास्थ्य सामग्री स्थलमार्गबाटै ल्याउने सेनाको तयारी छ । सेनाले तीन सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने गरी दुई अर्ब २५ करोढ बढीको सम्झौता ९ वैशाखमा गरेको थियो ।

Related Articles

Back to top button
Close