स्वास्थ्य/ जिबनशैली

बाँकेमा नर्स र पत्रकारमा कोरोना पुष्टि, क्वारेन्टाइन बसेकालाई परीक्षणबिना घर पठाइयो

नेपालगन्ज : बाँके जिल्लामा एकै घरका नर्स र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ।उनीहरु नेपालगन्ज उपमहानगरपालिका २ निवासी हुन् । गत ११ जेठमा नर्सलाई कोरोना संक्रमण भएको थियो । संक्रमित नर्सका श्रीमान र दुई सन्तान (छोरी र छोरा) को थ्रोट स्वाबबाट कोरोना परीक्षण गर्दा श्रीमानमा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

दुबैजनालाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ । ‘पत्नीलाई कोरोना संक्रमण भइसकेपछि मेरो र छोराछोरीको स्वाब संकलन गरिएको थियो, मेरो मात्र पोजिटिभ आएको हो,’ संक्रमित पत्रकारले अन्नपूर्ण पोस्ट्सँग भने, ‘हामी श्रीमानश्रीमतीको दुवैको स्वास्थ्य अवस्था राम्रो छ। कुनै स्वास्थ्य समस्या छैनन् ।’

उनले आफूलाई कोरोना संक्रमण भएको भन्दा पनि स्थानीय तहका पदाधिकारीले स्वास्थ्य अवस्थाबारे कुनै चासो नदेखाएकोमा पीर लागेको बताए। ‘नेपालगन्जको एउटै वडाका पतिपत्नीमा कोरोना संक्रमण हुँदा पनि नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष कसैले पनि चासो दिएका छैनन्, कसैले सोधपुछ पनि गरेनन्, ‘उनले दुःखेसो पोखे।

‘कोरोना पोजिटिभ भएको खबर पाउँदा सुरुमा डर लाग्यो, ‘खुट्टा थर्थर काँपे, कोरोनाबारे सबै कुरा थाहा पाएका हामीलाई त यस्तो मनोवैज्ञानिक त्रास हुँदो रहेछ । सर्वसाधारणको अवस्था के हुन्छ होला ? यस्तो बेलामा जनप्रतिनिधिले सान्त्वना दिनुपर्ने होइन त?’ कोरोना संक्रमण टोलमा फैलिने खतरा हुने भएकाले पनि जनप्रतिनिधिले चासो लिनुपर्ने उनको भनाइ थियो ।

जानकीमा जोखिम-बाँके जिल्लामा भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना परीक्षणबिना नै घर पठाइएको छ । नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा कोरोना संक्रमित भेटिए पनि यी दुबै पालिकासँग सीमा जोडिएको र दक्षिणमा भारतसँग सीमा जोडिएर कोरोनाको उच्च जोखिममा रहेको जानकी गाउँपालिकामा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई बिना परीक्षण नै घर फिर्ता गरिएको हो । जसका कारण गाउँले त्रासमा छन् ।

प्रेस संगठन बाँकेले मंगलबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर खत्रीले भारतका विभिन्न राज्यबाट आएका ७२ जना व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखेर पनि कोरोना परीक्षणबिना नै घर पठाइएको बताए ।उनले भने, ‘विभिन्न मितिमा आएका व्यक्तिलाई हामीले १४ दिन क्वारेन्टाइनमा राख्यौं । उनीहरुको कोरोना बिना नै घर पठाइएको छ । जोमिखपूर्ण ठाउँमा किन यस्तो लापरबाही गरेका हुन् ?’

अहिले पनि जानकी गाउँपालिकाको विभिन्न ८ वटा क्वारेन्टाइनमा ६ बालबालिकासहित ४० महिला गरी एक सय ९६ जनालाई राखिएको छ । जसमा हरेक दिन भारतबाट आउने बढिरहेका छन् । भारतको कोरोना संक्रमित क्षेत्रबाट आउने र नेपालगन्ज र खजुरासँग जोडिएकाले गाउँपालिकाले जोखिममा रहेको भन्दै कोरोना परीक्षणका लागि प्रदेश सरकारसँग गुहार मागेको पनि प्रमुख प्रशासकीय अधिकृत खत्रीले प्रष्ट पारे ।

‘नरैनापुरको जस्तो अवस्था हामीलाई पनि नहोला भन्ने चिन्ता लागेको छ । कम्तीमा पनि भारतसँग सीमा जोडिएको १ को साइगाउँ, शिवपुरी र बढैयाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको कोरोना परीक्षण गर्नुपर्छ,’ खत्रीले माग गरे ।

उनका अनुसार अहिलेसम्म सिंगो गाउँपालिकामा ७ जनाको मात्र पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना परीक्षणबिना नै घर पठाइएको हो भनेर जिज्ञासा राख्दा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले यस विषयमा सोधीखोजी गरिने प्रतिक्रिया दिए।

Related Articles

Back to top button
Close