समाचार

दाहसंस्कार गरेको ९ दिनपछि कोरोना संक्रमण पुष्टि हुनुको अन्तरकथा

१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।चारमध्ये तीन केसको एउटै संयोग छ, मृत्युपछि कोरोना संक्रमण पुष्टि । अर्थात, कोरोना संक्रमण पुष्टि हुनुअघि नै मृत्यु ।त्यसमध्ये चौथो केसको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको हो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबारे चौथो व्यक्तिको मृत्यु पुष्टि गर्दै भनेका थिए, ‘उहाँको बारे भन्नुपर्दा ट्युबरक्लोसिस (क्षयरोग), दीर्घ स्वाश्वप्रश्वाससम्बन्धी समस्या भएको । सास फेर्न गाह्रो भएर जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना हुनु भएको थियो । आईसीयूमा उपचारका क्रममा जेठ ३ गते स्वाब कलेक्सन भएको थियो । नारायणी अस्पतालमा परीक्षण गर्दा शंकास्पद भेटिएपछि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । उहाँको ४ गते मृत्यु भयो ।’

प्रवक्ता देवकोटाले यति मात्र भने । जेठ तीन गते नै संकलन भएको स्वाबको रिपोर्ट आउन ९ दिन किन लाग्यो ? शंकास्पद रिपोर्ट आएका व्यक्तिको शव प्रोटोकल विपरीत किन परिवारलाई दिइयो ? भन्ने विषयमा केही बोलेनन् ।

अर्थात कमजोरी कहाँ, कसरी र कसको भयो ? भन्ने विषयमा उनले प्रष्ट पारेनन् ।नारायणी अस्पतालका मेसु मदनकुमार उपाध्यायलाई जेठ २ गते नेशनल मेडिकल कलेजले एक जना कोभिड–१९ का शंकास्पद बिरामी आएको, तर स्वाब संकलनका लागि भाइरस ट्रान्सपोट मेडियम (भीटीएम) नभएको भन्दै सम्पर्क गरेको थियो । नारायणीले भीटीएम दिएपछि नेशनलले राति नै स्वाब संकलन गरेर पठायो ।

भोलिपल्ट ३ गते नारायणी अस्पतालको प्रयोगशालाले जाँच गर्दा रिपोर्ट शंकास्पद आयो । ५ गते जाँच गर्दा पनि उनको रिपोर्ट शंकास्पद नै आयो । त्यसबेला अरु स्वाबको रिपोर्ट पनि शंकास्पद आएको थियो । ‘त्यसैले हामीले उनीसँगै अरु ८ जनाको स्वाब ७ गते टेकु पठायौं’ डाक्टर उपाध्यायले अनलाइनखबरसँग भने, ‘उता पनि क्यूमा राख्दा ढिलो भएछ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाकाअनुसार टेकुमा ८ गते स्वाब आइपुगेको बताउँछिन् । उनको अनुसार स्याम्पलमा ‘क्यू सी’ लेख्नु बाहेक अरु सन्देश थिएन । ‘क्यू सी’ अर्थात ‘क्वालिटी कन्ट्रोल’ ।

‘क्यू सी’ लेखिएको स्याम्पल ‘रिकन्फर्म’ गर्न भन्ने बुझिन्छ । जेनेटिक साइन्टिस्ट डा. बलराम गौतमका अनुसार एउटा ल्याबमा पीसीआर पोजेटिभ आएपछि अर्को ल्याबमा पनि पोजेटिभ नै आउने सम्भावना धेरै हुन्छ । तैपनि कतिपय अवस्थामा रि–कन्फर्म गर्न पठाइन्छ । अस्पतालले इमर्जेन्सी जाँच भनेर नपठाएको अवस्थामा त्यसलाई अरु स्वाबको पालो मिचेर जाँच गरिँदैन ।

‘त्यो नमुनालाई पालो आएपछि जाँच गर्दा पोजेटिभ आयो, तर त्यो केस पहिला नै पोजेटिभ घोषणा गरिसकेको हुनसक्ने भएकाले नयाँ पोजेटिभ भनेर पठाउने कि पुरानै भनेर उल्लेख गर्ने भन्ने अलमल भयो’ डा. झा भन्छिन्, ‘त्यसपछि हामीले इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई फोन गरेर सोध्यौं । त्यता सोधेपछि बल्ल पो डेथ भइसकेको केस हो रहेछ भन्ने थाहा भयो ।’

नमुना पठाउँदा नै मृत्यु भइसकेको केस हो भन्ने जानकारी दिएको भए स्वाब आएकै दिन रिपोर्ट आउने झा बताउँछिन् । समन्वय नभएको कारण नै रिपोर्ट ढिलो आएको उनको तर्क छ ।

‘४ गते मृत्यु भएको व्यक्तिको स्वाब ८ गते आउँछ र त्यसमा केही जानकारी दिँइदैन भने हामी के बुझ्ने ?’ डाक्टर झा भन्छिन्, ‘अहिले ल्याबमा धेरै स्याम्पल आएकाले पालो आउन कम्तिमा पनि २ दिन लाग्छ । अर्जेन्ट भनेर जानकारी दिएको केसलाई हामी तुरुन्तै जाँच गर्छौं ।’

Related Articles

Back to top button
Close