समाचार

अष्ट्रेलियाबाट चैत ३ गते आएका थिए सोह्रखुट्टेका संक्रमित

काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय कोरोना संक्रमित पुरुष अष्ट्रेलियाबाट आएको खुलेको छ । उनी ३ चैतमा अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएका थिए ।

काठमाडौं महानगरपालिका–१६ का वडा सदस्य पुष्प महर्जनले  बताए अनुसार नेपाल आएर उनी घरमै बसेका थिए । विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए ।पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि पत्नीसहित उनले कोरोना भाइरसको परीक्षण गराएका थिए ।आइतबार आएको रिपोर्ट अनुसार उनको नतिजा पोजेटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ ।

काठमाडौं आएको दुई महिना भइसकेकाले उनी विदेशबाट आउँदै संक्रमित थिएनन् कि भन्ने आशंका उब्जिएको एक अधिकारीले बताए । अहिले उनको नेपालको यात्रा विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

वडा नं. १६ का स्वास्थ्य संयोजक रामचन्द्र पोखरेल भन्छन्, ‘उहाँले यहीँ तरकारी बजार र डेरीबाहेक अन्त नगएको भन्नुभएको छ । हामीले उहाँको सम्पर्कमा आएका व्यक्तिको विवरण संकलन गरेर पठाइसकेका छौं ।’हाल उनलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिसकिएको पोखरेलले बताए ।

Related Articles

Back to top button
Close