समाचार

नेपालमा डाक्टरलाई पनि कोरोना पुष्टि, ललितपुरमा भेटिएका संक्रमित स्वास्थ्य सेवा विभाग करारका डाक्टर

मंगलबार उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको बताइएको छ। मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको छ। ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य चिकित्सक रहेको स्रोतले जानकारी दियो।

मंगलबार ललितपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो। नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको सम्भवत यो नै पहिलो हो। महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी अनुगमनमा विभिन्न जिल्ला गएर आएका एक चिकित्सकमा कोरोना पोजेटिभ देखिएको हो। महाशाखाभित्र अहिले झण्डै एक सयकाे हाराहारीमा चिकित्सक, स्वास्थ्यकर्मी कार्यरत छन्। एक जनामा कोरोना देखिएपछि अहिलेसँगै काम गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मीलाई कहाँ राख्ने भन्ने विषयमा गम्भीर छलफल चलिरहेको छ।

स्रोतकाअनुसार कन्ट्याक्ट ट्रेसिङमा कपिलवस्तु गएका बेला उनमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ सकेर फर्केपछि उनी क्वारेन्टाइनमा बसेका थिए । सोही क्रममा उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । कोरोना पोजेटिभ देखिएलगतै उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

Related Articles

Back to top button
Close